इपिएलमा पोखराको दोस्रो हार

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर पेट्रियट्सले पोखरा राइनोजलाई ८ विकेटले हराएको छ । पोखरा पहिलो खेलमा भैरहवासँग ४ विकेटले पराजित भएको थियो । 

टस जितेर ब्याटिङ रोजेको पोखराले उत्कृष्ट सुरुआत गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनायो । जवाफी ब्याटिङ गरेको ललितपुरले २५ बल बाँकी छँदा २ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो । 

ललितपुरको सुरुआत सानदार रह्यो । पहिलो विकेटको रुपमा जयकिसन कोल्सावाललाई गुमाउँदा ललितपुरको बोर्डमा १ सय २९ रन आइसकेको थियो । १२औँ ओभरको तेस्रो बलमा जयकिसनलाई सुशन भारीले शक्ति गौचनको हातबाट क्याच गराए । उनले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन जोडेका थिए । 

दोस्रो विकेटका रुपमा ललितपुरले गौरव तोमरलाई गुमाउँदा उनले टिमको लागि व्याक्तिगत ८२ रन जोडेका थिए । ४१ बलको सामना गरेका उनले ४ चौका र ८ छक्काको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । १४औँ ओभरको अन्तिम बलमा पल कोउलिङले उनलाई गौचनकै हातबाट क्याचआउट गराए । त्यतिवेला ललितपुरको स्कोरबोर्डम १ सय ४६ रन पुगेको थियो । 

ललितपुरका लागि सोनु तामाङ र सन्नी पटेलले क्रमश ११ र २० रनको योगदान दिए । 

यसअघि, पोखराले पनि उत्कृष्ट सुरुआत गरेको थियो । १०औँ ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाउँदा पोखराले ९७ रन जोडेको थियो । पवन सर्राफले पोखराका रिचार्ड लेभीलाई पभेलिएन फर्काएका थिए । ३९ बल मात्रै खेलेका लेभीले ३ चौका र ९ छक्कासहित ८४ रन बनाए । 



तर, त्यसपछिका ब्याट्समेनले भने राम्रो रन जोड्न सकेनन् । १४औँ ओभरको पहिलो र अन्तिम बलमा पोखराका सुनील धमला (१०) र कायल कोट्जर (१९) लाई पवन सर्राफले नै आउट गरे । त्यसपछि पल कोग्लिन व्याक्तिगत १४ रनमा आउट भए । 

यस्तै, विनोद भन्डारी ३४ र राजेश पुलामी मगर २ रन जोड्दै नटआउट रहे । विनोदले २३ बलको सामना गरेका थिए । 



इपिएलअन्तर्गत मंगलबार पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा विराटनगर र पोखरा भिड्नेछन् भने दोस्रो खेलमा भैरहवा र चितवनबीच प्रतिस्पर्धा हुनेछ । 
 

  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १७:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया