एजेन्सी– उर्जित पटेलले भारतीय रिजर्भ बैंकको गर्भनर पदबाट सोमबार दिउँसो अचानक राजीनामा दिएको घोषणा गरेपछि भारतमा उनको रजीनामाबारे व्यापक बहस सुरु भएको छ ।
पटेलले राजीनामाको घोषणा गर्न रिजर्भ बैंककै वेबसाइटलाई छाने । वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, ‘निजी कारणले मैले तत्काल लागु हुनेगरि राजीनामा दिने निणर्य गरेको छु । केही वर्षयता भारतीय रिजर्भ बैंकमा विभिन्न पदमा रहेर काम गर्न पाउनु मेरालागि सम्मानको कुरा हो । म यो अवसरमा मेरा सहयोगी तथा रिजर्भ बैंकका निर्देशकप्रति आभार व्यक्त गर्न चाहन्छु र रिजर्भ बैंकको भविष्यबारे शुभकामना दिन चाहन्छु ।’
पटेलले नखुलाए पनि भारतीय सन्चारमाध्यममा विभिन्न विश्लेषकले पटेलको राजीनामा मोदी सरकारका नीतिसँग असन्तुष्ट भएकाले आएको अनुमान गरेका छन् । केही समययता पटिल र मोदी सरकारबीच मनमुटाव भएको समाचार सन्चारमाध्यममा आएका थिए ।
त्यसो त सरकार र गर्भनरबीच विभिन्न विषयमा मतभेद भएका अनुमान सार्वजनिक हुन थालेका थिए जुन पटेल र सरकार दुवैले खण्डन गर्दै आएका थिए । भारतको अर्थमन्त्रालयले रिजर्भ बैंकका गर्भनरमाथि निर्देशन दिन पाउने कानुन ल्याउन लागेको, सरकारले ३ लाख ६० हजार करोड भारतीय रुपैयाँ बैंकबाट ऋण मागेकोलगायतका कारणले पटेलले राजिनामा दिएको हुनसक्ने अनुमान गरिएका छन् ।
अर्कोतिर, उर्जितको राजीनामा मोदी सरकारका लागि कति महत्वपूर्ण थियो भन्ने सामाजिक सन्जालमा भारतीय प्रधानमन्त्रीको प्रतिक्रियाले दर्शाउँछ । उर्जितले राजनीमा घोषणा गरेको केही समयमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरे, ‘डा उर्जित पटेल राम्रो बौद्धिक क्षमताका र अर्थशास्त्रलाई सुक्ष्मरुपमा बुझेका अर्थशास्त्री हुन् । उनले देशको बैकिङ सिस्टमलाई सही तरिकाले व्यवस्थित गरे ।’
मोदीले जस्तै भारतका अर्थमन्त्री अरुण जेटलीले पनि उर्जितको राजीनामा लगत्तै ट्विट गरेर उर्जितसँग काम गर्न पाउनु आफ्ना लागि भाग्य भएको उल्लेख गरेका छन् ।
अर्कोतिर विपक्षी दल भारतीय कंग्रेसले चाहिँ मोदी सरकारले लोकतान्त्रिक संस्थामा शोषण गर्न थाल्नुले उर्जितको यो राजीनामा आएको प्रतिक्रिया दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।