उनी स्कुलमा निकै गर्वका साथ साथीहरूलाई सुनाउँथिन् – मेरो बाबाको नाम स्टिभ जब्स हो । साथीहरूले सोधे, ‘उनी को हुन् ?’
लिसाले जवाफ दिन्थिन्– उहाँ निकै चर्चित हुनुहुन्छ । आफैँले पर्सनल कम्प्युटरको आविष्कार गर्नुभएको छ । उहाँ निकै ठूलो बंगलामा बस्नुहुन्छ र कनभर्टिबल पोर्स कार चलाउनुहुन्छ । जब उहाँको गाडीमा सानोभन्दा सानो मात्रै दाग लाग्छ, नयाँ गाडी किनिहाल्नुहुन्छ ।
तर, लिसा ब्रेनन जब्स र उनका पिता स्टिभ जब्सको सम्बन्ध सुमधुर थिएन ।
लिसा ब्रेनन जब्स विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलका संस्थापक स्टिभ जब्सकी छोरी हुन् । उनै लिसा ब्रेननले बाबुसँगको सम्बन्धको विषयमा ‘स्मल फ्राई’ नामको एक किताब लेखेकी छिन् ।
उक्त किताबमा उनले एक छोरी र उनीभन्दा निकै टाढा रहेका पिताबीचको चिसो सम्बन्ध र त्यसबाट उत्पन्न समस्याबारे उल्लेख गरेकी छिन् । स्टिभ जब्सले सुरुमा लिसालाई आफ्नो छोरी मान्नै पनि इन्कार गरेका थिए ।
बाबाकी प्यारी छोरी बन्न खोज्दा आफूले निराशा, भावनात्मक पीडा र एक्लोपन पाएको अनुभव उनले पुस्तकमार्फत सेयर गरेकी छिन् ।
समय बित्दै जाँदा उनीहरूको सम्बन्धमा सुधार हुँदै गएको थियो । तर, उनीहरू एक–आपसमा नजिक भने कहिल्यै पनि हुन सकेनन् ।
सन् २०११ अगस्ट ५ मा जब्सको पेनक्रियाज क्यान्सरबाट निधन भयो । उनको मृत्यु हुनुपूर्व भने लिसा ब्रेनन उनलाई भेट्न बारम्बार अस्पताल गइरहन्थिन् ।
यस्तै, बाबुसँगको एक भेटबारे उनले लेखेकी छिन्, ‘उहाँ कट्टु लगाएर बिस्तारामा सुतिरहनुभएको थियो । उहाँको खुट्टा नांगै थियो र त्यो निकै मसिनो थियो ।’
‘उहाँले अलबिदा भन्नुभन्दा पहिला मैले एक सुगन्धित स्पे्रको प्रयोग गरेँ । म उहाँको बिस्तारामा जाँदा उहाँले बिस्ताराबाट उठेर मलाई अँगालो हाल्नुभयो । मैले उहाँको पातलो शरीर र शरीरका हड्डीहरूले घोचेको महसुस गरेँ ।’ उनले लेखेकी छन्, ‘मैले फिल्ममा जस्तै गरी कुनै ठूलो पुनर्मिलनको सम्भावनाको आशा गर्न छाडेको थिएँ । तथापि, म उहाँलाई भेट्न भने गइरहेको हुन्थेँ ।’
बाबाकाे सहयोग पाइएन
लिसा ब्रेनन जब्सको जन्म सन् १९७८ मे १७ मा भएको थियो । उनकी आमा क्रिसन ब्रेनन र स्टिभ जब्स दुवैजना त्यतिबेला २३ वर्षका थिए ।
उनकी आमाले एक साथीको फार्महाउसमा उनलाई जन्म दिएकी थिइन् । जहाँ स्टिभ जब्स पनि सँगै थिए । तर, उनकी आमाले सो बच्चाका बाबु को हुन् भन्ने कुरा कसैलाई पनि सुनाएकी थिइनन् ।
ब्रेनन जब्स लेख्छिन्, ‘म दुई वर्षको हुने बेलासम्म मेरो आमा भाँडा माझ्ने काम र अन्य जागिर गरेर घर चलाउनुहुन्थ्यो । त्यति हुँदा पनि मेरा बाबा (स्टिभ जब्स)ले कुनै सहयोग गर्नुहुन्थेन ।’
उनले अगाडि लेखेकी छिन्, ‘सन् १९८० मा क्यालिफोर्नियाको स्याट मटियो काउन्टीका डिस्ट्रिक्ट जर्जले आमा र मेरा लागि गुजारा भत्ता दिन मेरा बाबालाई आदेश दिए । तर, उहाँले म उहाँकी छोरी नै नभएको झुटो वक्तव्य दिनुभयाे । सँगै उहाँले आफू कहिल्यै पिता बन्न नसक्ने पनि बताउनुभयाे । उहाँले कुनै अन्य व्यक्तिको नाम लिएर ऊ नै मेरो पिता भएकाे बताउनुभयाे ।’
तर, डिएनए टेस्टबाट लिसा स्टिभ जब्सकी छोरी भएको पुष्टि भयो । त्यसपछि दैनिक ५ सय गुजारा भत्ता र सोसल इन्सुरेन्स खर्च दिन अदालतले जब्सलाई आदेश दियो ।
पुस्तकमा लेखिएको छ, ‘सन् १९८० डिसेम्बर ८ मा सबै अदालती मामिला सकियो । बुबाका वकिलले यो मामिलालाई चाँडै सक्न दबाब दिइरहेका थिए । यसको चार दिनपछि एप्पल कम्पनी सार्वजनिक गरियो र अर्काे दिन मेरा बुबाको सम्पत्ति २० करोड डलरभन्दा धेरै भएको थाहा भयो ।’
लिसा ब्रेननले लेखेको कहानीमा सबैभन्दा रोचक हिस्सा कारको प्रसंगमा जोडिएको छ ।
‘तिमीलाई केही पनि मिल्नेवाला छैन’
याे वाक्य ब्रेनन जब्सले आफ्नी आमाबाट सुनेकी थिइन्,
उनका बाबु आफ्नो पोर्स कारमा सानो मात्रै दाग लाग्नासाथ कार नै फेरिदिन्थे ।
जब लिसा किशोरी भइन्, हरेक हप्ताको एक दिन उनी जब्सको घरमा बस्न जान्थिन् । किनकि, उनकी आमा कामका लागि सन् फ्रन्सिस्कोको कलेजमा जानुपथ्र्यो ।
एक दिन लिसाले स्टिभ जब्ससँग तपार्इंको कार तपाईंलाई काम नलाग्ने भएपछि मैले लिन सक्छु भनेर सोधेकी थिइन् । यसको उत्तरका जब्सले सीधै भने – ‘हुँदैन’ ।
उनले यसो भनिरहँदा आवाजमा निकै रुखोपन थियो, जसले गर्दा लिसाको मनमा निकै ठूलो चोट पुगेको थियो ।
जब उनी घर पुगे, स्टिभ जब्सले आफ्नो गाडी बन्द गर्दै भने, ‘तिमीले केही पनि पाउदिनौँ, केही पनि ।’ ब्रेनन जब्सका अनुसार उनका पितामा दयालुपन थिएन । पैसा, खाना वा शब्द जुनसुकै सवालमा ।
लिसा कम्प्युटर
क्रिसन ब्रेनन गर्भवती भएपछि जब्स कम्प्युटर बनाउने काम गरिरहेका थिए । पछि सो कम्प्युटरको नाम नै लिसा राखियो । यो म्याकिटोसभन्दा पहिलो थियो । यो नै पहिलो कम्प्युटर थियो, जसमा माउस बाहिरबाट लगाइएको छ । ब्रेनन जब्स भन्छिन्, त्यो निकै महँगो थियो, जुन व्यावसायिक रूपले पनि फ्लप भयो ।
जब लिसा सानी थिइन्, उनलाई लान्थ्यो कि आफ्नो सम्मानमा बुबाले कम्प्युटरको नाम आफ्नै नामबाट राखेका थिए । एक दिन लिसाले सीधै यस विषयमा सोधिन्, तर उनका बाबुले उनले सोचेको कुरा गलत भएको बताए ।
तर, एकपटक उनी आफ्ना बाबुसँग एक यात्रामा गएकी थिइन् । फेरि त्यही प्रश्न कोही अरूले दोहोर्यायो । यसपटक भने स्टिभ जब्सले भनेका थिए, कम्प्युटरको नाम लिसाकै नामबाट राखिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।