एजेन्सी– अनुसन्धाताहरूले प्रारम्भिक तथ्यांकहरूको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबालिकाको मस्तिष्कमा ‘विभिन्न संरचना’ भेटिएको बताएका छन् ।
आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्त राज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ ।
राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआइएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो गेम खेल्ने नौ र दश वर्ष उमेरका बालबालिकाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने संकेत पाइएको छ ।
कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन् ।
‘तैपनि बालबालिकाले बढी समय स्क्रिनमा बिताएकै कारण यस्तो भएको हो भन्ने सुस्पष्ट भइसकेको छैन । यो बाहिरी पत्र पातलिनु ठीक हो वा होइन भन्ने पनि अझै निक्र्यौल भइसकेको छैन,’ एनआइएचमा कार्यरत चिकित्सक गाया डाउलिङले बताए । हालसम्म प्राप्त विवरण प्रारम्भिक तथ्य मात्र हो, उनले भने ।
‘हामी के मात्र भन्न सक्छौं भने स्क्रिनमा बढी समय बिताउने बालबालिकाको मस्तिष्कमा भिन्नता देखिएको छ । यो एउटा भिन्न संरचना मात्र पनि होइन,’ सिबिएसको समाचार कार्यक्रम ६० मिनेटलाई दिएको अन्तर्वार्तामा डाउलिङले भने ।
दिनको दुई घण्टाभन्दा बढी समय स्क्रिनमा व्यतीत गर्ने बालबालिकाको भाषा र तार्किकता जाँचमा ज्यादै कमजोर अवस्था देखिएको छ । उक्त नतिजा चार हजार पाँच सय बालबालिकाको मस्तिष्क स्क्यान गरेर प्राप्त भएको हो ।
वैज्ञानिकहरूले स्क्रिनमा बढी समय व्यतीत गर्ने बालबालिकामा पर्ने नकारात्मक असरका बारेमा अझ लामो समयावधिको अध्ययन आवश्यक पर्ने बताएका छन् ।
अध्ययनका प्रारम्भिक तथ्यांकहरू सन् २०१९ को प्रारम्भबाट अध्येताहरूका लागि उपलब्ध गराइनेछ ।
अमेरिकी बाल स्वास्थ्य एकेडेमीले १८ देखि २४ महिनाभन्दा साना बालबालिकालाई भिडियो च्याटिङबाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।