सहिद स्मारक ‘ए’ डिभिजन लिग: मनाङ शीर्ष स्थानमा

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित क्लब न्यूरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो । 

चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निकै सशक्त टोली रहेको थियो । सो टीम २०१७, २०१९, २०३५ र २०५१ सालको लिग च्याम्पियन हो । आर्थिक सङ्कटले गर्विलो इतिहास बनाएको एनआरटी झनै सङ्कटमा परेको थियो । 

विसं २०६९ सालमा एनआरटीले आर्थिक सङ्कटको कारण देखाउँदै लिग नखेल्ने निर्णय गर्यो । फलस्वरुप एन्फाले एनआरटीलाई कारवाहीस्वरुप ‘बी’ डिभिजनमा घटुवा गराएको थियो भने २०७३ मा ‘बी’ डिभिजन लिगको उपविजेता भएर पुनः ‘ए’ डिभिजनमा फर्कन सफल भएको थियो ।

एनआरटीले २४ वर्षयता लिग जित्न सकेको छैन । यसपटक पनि उसको लिग जित्ने ध्यान्न भन्दापनि प्रतिस्पर्धामा खरो उत्रने सोचमा छ । क्लबका प्रशिक्षक महेश्वर मुल्मी जारी लिगमा हुने खेलमा प्रतिस्पर्धी टोलीलाई बलियो चुनौती पेश गर्ने रणनीतिमा रहेको बताउँछन् । 

नयाँ र युवा प्रतिभा टोलीमा रहेपछि जारी लिगका सातौं चरणका खेल सकिँदासम्म एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरीमा रोकिएसँगै एनआरटी लगातार छ खेलमा हार बेहोरिसकेको छ । 

दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–०, तेस्रो खेलमा नवप्रवेशी च्यासल युथ क्लबसँग ५–१, चाैंथो खेलमा थ्रीस्टार क्लबसँग १–० र पाँचाैं खेलमा नेपाल पुलिस क्लबसँग ३–० गोल छैटौँ खेलमा एपिएफसँग २–१ र सातौँ खेलमा सङ्कटा क्लबसँग १–० ले एनआरटी पराजित भएको छ । 

सो टीमले अहिलेसम्म १७ गोल खाँदा चार गोल मात्र फर्काउन सकेको छ । प्रशिक्षक मुल्मीले यो सिजनका लागि क्लबले खासै तयारी नगरेको बताउँछन्। यसवर्ष रेलिगेशन नहुने भएर पनि पुछारका क्लब त्यति निराश छैनन् । अङ्क तालिकाको पुछारमा रहँँदा पनि ‘ए’ डिभिजनमै रहने सुविधा भएकाले क्लबहरुले तयारी र खर्चमा लोभ गरेको आरोप समेत लागेको छ । 

मछिन्द्र गोलकै खोजीमा  

यता मछिन्द्र क्लबले जित त परको कुरा भयो । जारी लिगमा एक गोल समेत फर्काउन सकेको छैन । सात खेल खेल्दा तीन खेल बराबरी गरेको छ । तीनवटैमा मछिन्द्रले गोलरहित बराबरी खेल्यो । बाँकी चार खेलमा खेलमा मछिन्द्र पराजित भयो । उसले आठ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन । 

साताै‌ं चरणको खेल सकिँदासम्म सात पटकको विजेता मनाङ शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन् । मनाङ्को २१ अङ्क रहेको छ । थ्रीस्टार र सङ्कटाको समान १८ अङ्क छ । उनीहरु क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । 

त्यसैगरी लिगमा अपराजित टोली त्रिभुवन आर्मीको १७ अङ्क बनाउँदै चौंथो स्थानमा छ । सातौँ चरणको खेल सकिँदा नेपाल पुलिस र हिमालयन शेर्पाले समान ११ अङ्क जोड्दै क्रमशः पाँचौं र छैठाैं स्थानमा रहेको छ ।

च्यासल १० अङ्क जोड्दै सातौँ स्थानमा रहँदा समान अङ्कसहित एपिएफ आठौँ स्थानमा रहेको छ । छ अङ्क जोडेको सरस्वती नवौँ र पाँच अङ्क जोडेको फ्रेण्ड्स दशौँ स्थानमा छन् । चार अङ्क जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औँ स्थानमा रहँदा ३ अङ्क जोडेको मछिन्द्र १३ औँ र एक अङ्क जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन् । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १२:५३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया