आपराधिक घटनामा बढीजसो बालकको संलग्नता
निगरानी बढाउन अभिभावकलाइ अाग्रह

उदयपुर– उदयपुरमा बर्सेनि हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्षमुनिका बालक नै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांंकअनुसार चार महिनायतादेखि भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालक नै संलग्न हुने गरेको दखिएको छ । 

जिल्लामा भएका चार महिनाभित्रका बालिका बलात्कार झन्डै सात घटना तथा यौन दुर्व्यवहारका अधिकांश घटनामा १५ वर्षसम्मका बालकको संलग्नता रहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए । यता, इन्सेक उदयपुरका अनुसार चार महिनाभित्र जिल्लामा २२ बालिका बलात्कृत भएको र यसमा १५ वर्षसम्म बालकको संलग्नता धेरै रहेको छ । 

इन्सेक उदयपुरका संयोजक भरत थापाका अनुसार बलात्कारको घटनामा पहिले १७ वर्षभन्दा माथिका किशोर बढी संलग्न हुने गरे पनि अहिले १५ वर्ष मुनिका बालकको धेरै संलग्नता देखिन्छ । यसअघिका वर्षमा जिल्ला लागुऔषध दुर्व्यसन र प्रयोगकर्तामा पनि बढी किशोर संलग्न हुने गरेको, तर अहिले १५ वर्षमुनिका बालक धेरै संलग्न हुने र दुर्व्यसनमा फस्ने गरेको प्रहरी प्रमुख राईले जानकारी दिए । 

बालबालिका अपराध तथा लागुऔषध दुर्व्यसनमा फस्दै जानुमा अभिभावकको निगरानी नहुनुलाई प्रमुखकारण मानिएको छ । अभिभावकले आफ्ना बालबालिकाको उचित रेखदेख र हेरचाह नगरी लापवाही गर्नाले नै अहिले उदयपुरमा बालबालिका बढी अपराधमा संलग्न हुन थालेको र आफ्नो जीवनलाई संकटमा पारिरहेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । 

मोबाइललगायत प्रविधि बढी चलाउन दिनु, गलत संगततमा लागेका बालबालिकालाई अभिभावकले बेवास्ता गर्नु र समाजका जिम्मेवार व्यक्ति पनि गैरजिम्मेवार बन्दै जानुले अहिले उदयपुरमा बालबालिका अपराधमा बढी संलग्न हुन थालेको विभिन्न विश्लेषक तथा बुद्धिजीवीको धारणा छ । 

वेलैमा अभिभावक सचेत नबने जिल्लाका धेरै बालबालिकाको भविष्य अन्धकार हुने र झनै आपराधिक क्रियाकलाप बढ्दै जाने सरोकारवाला निकाय बताउँछन् । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १३:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया