माओवादीले भन्यो : एमसिसी सम्झौता टेबल गर्ने कुरामा हाम्रो ध्यानाकर्षण छ

सत्तारूढ नेकपा माओवादी केन्द्रले एमसिसी परियोजना संसदमा टेबल गर्ने विषयमा आफ्नो ध्यानाकर्षण गरेको छ । संसदको आजको बैठक सुरु हुनेबित्तिकै समय लिँदै माओवादी नेता देव गुरुङले ध्यानाकर्षण गराएका हुन् । 

उनले भनेका छन्, ‘आजको कार्यसूचीको तेस्रो बुँदामा एमसिसीको प्रस्ताव टेबल गर्ने भन्ने उल्लेख छ । जसमा हाम्रो ध्यानाकर्षण छ ।’

सत्ता गठबन्धनभित्र आज मात्रै एमसिसी टेबल गर्ने सहमति भएको थियो । आजको बैठकमा बोल्दै गुरुङले भने, ‘सदन अवरोध भइरहेको अवस्थामा कुनै पनि महत्वपूर्ण एजेण्डामाथि छलफल चल्न सक्दैन । यसअघि झण्ठै ४२ वटा विधेयकहरू पाइपलाइनमा छ । कुनै पनि विधेयकमा छलफल गर्न पाएको छैन ।’

गुरुङले भनेका छन्, ‘संसदीय परम्परा अनुसार सभामुखज्यूले रुलिङ गरिसकेपछि पालना गर्ने कुरा एउटा पाटो भयो । तर, यो विषयमा हामीले गम्भीरतापूर्वक ध्यानाकर्षण गराएका छौं । हामीले असहमतिको पत्र दर्ज गरेका छौं । यही कुरा हाउसलाई पनि जानकारी गराउँछौं ।’

उनले सदन खुलाएर सहज खालको वातावरण बनाउन आग्रह गरे । 

सत्तारूढ गठबन्धनमा सहमति नभएपछि यसअघि यो सम्झौता टेबुल हुन सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बसेकै बैठकमा एमसिसी सम्झौता टेबल गर्ने पक्षमा थिए । तर, सहमति नजुट्दा शुक्रबार यो संभव भएको थिएन । 



माओवादीका तर्फबाट ३ जना नेताहरूले लिखित असहमति राखिसकेका छन् । देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले कार्यव्यवस्था परामर्श समितिको बैठकमा असहमति जाहेर गरेका हुन्। उता, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि आपत्ति जनाएका छन् ।



  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १४:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया