ए डिभिजन लिग : रोमाञ्चक बन्दै गोल्डेन बुट दौड

अहिले सहिद स्मारक ए डिभिजन लिगको १२ औँ चरण चलिरहेको छ । लिग अन्त्यतिर आइपुग्दा गोल्डेन बुटको होड भने रोमाञ्चक बन्दैछ । 

लिगमा अहिले पाँच खेलाडीबीच गोल्डेन बुटका लागि प्रतिस्पर्धा चलिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको व्यवस्था गरेको हो ।

गाेल्डेन बुटका दाबेदार खेलाडीकाे बारेमा यहाँ छाेटकरीमा चर्चा गरिनेछ ।

जमोल एन्थोनी फ्रेन्कोइस

गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्- फ्रेन्ड्स क्लबका जमोल एन्थोनी फ्रेन्काेइस । उनले प्रतियोगिताभर सात गोल गरेका छन् ।

ट्रिनिडाड एण्ड टोबागोका फ्रेन्कोइस १२ औँ चरणमा च्यासलविरुद्ध दुई गोल गरेपछि सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका हुन् ।  



लिगको सुरुवाती ६ खेलसम्म गोल गर्न नसकेका फ्रेन्कोइसले सातौं चरणदेखि गोल गर्न थालेका थिए । एनआरटीविरुद्ध एक गोल गर्दै उनले खाता खोलेका थिए । आर्मी र जावलाखेलविरुद्ध समान एक गोल गरेका फ्रान्कोइसले ब्रिगेड ब्वाइजविरुद्ध दुई गोल गरे । 

फ्रेन्ड्सले अन्तिम खेलमा हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । 



ओलावाले अफिज

नाइजेरियाका ओलावाले अफिजले यो सिजन मनाङ मर्स्याङ्दी क्लबका लागि ६ गोल गरेका छन्।  

हिमालयन शेर्पाविरुद्ध एक गोल गर्दै खाता खोलेका अफिजले च्यासलविरुद्ध ह्याट्रिक गर्दा सातदोबाटो र फेन्ड्सविरुद्ध समान एक गोल गरेका छन् । मनाङले एनआरटी र आर्मीसँग खेल्न बाँकी छ ।

सुनिल बल

मछिन्द्र क्लबका सुनिल बलले लिगमा ६ गोल गरेका छन् । न्युरोडविरुद्धको पहिलो खेलमै दुई गोल गरेका सुनिलले मनाङ मर्स्याङदी, नेपाल पुलिस, च्यासल र हिमालयनविरुद्ध समान एक गोल गरेका छन् । मछिन्द्रले आफ्नो अन्तिम खेल एपिएफसँग खेल्नेछ ।

मार्टिन्स अजयी

सातदोबाटो युथ क्लबका नाइजेरियन खेलाडी मार्टिन अजयीले प्रतियोगितामा पाँच गोल गरेका छन्। 

विभागीय टोली नेपाल एपिएफविरुद्धको खेलमा ह्याट्रिक गरेका मार्टिन्सले आर्मी र मनाङविरुद्ध समान एक गोल गरेका छन् । सातदोबाटोले ब्रिगेड ब्वाइज र च्यासलसँग खेल्न बाँकी छ ।

आशिष लामा

लिगमा पाँच गोल गरेका विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबका आशिष लामाले पहिलो खेलमै ब्रिगेड ब्वाइज क्लबविरुद्ध एक गोल गदै खाता खोलेका थिए ।

आशिषले फ्रेन्ड्सविरुद्ध दुई तथा एनआरटी र मनाङविरुद्ध समान एक गोल गरेका छन् । एपिएफले बाँकी खेल नेपाल पुलिस र मछिन्द्र क्लबसँग खेल्नेछ ।  
  

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १४:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया