मलेसियामा दैनिक एक नेपालीको मृत्यु

मलेसिया– धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एकजनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । 

मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्यांकअनुसार सन् २०१८ को हालसम्म तीन सय २२ को विभिन्न कारणले मृत्यु भएको छ । यो संख्या सन् २०१७ मा तीन सय ६४ रहेको थियो । 

कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ । सुतिरहेको अवस्था, मदिरासेवन, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको संख्या एक सय ९८ रहेको छ । मृत्यु हुनेमा एकजना महिला र बाँकी सबै पुरुष छन् । 

सन् २०१७ मा मृत्यु भएकामध्ये ६५ जनाले आत्महत्या गरेका थिए । कडा रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो । अन्य कारणले मृत्यु हुनेको संख्या १ सय ९५ रहेको थियो । 

खरेलका अनुसार क्षयरोग, कलेजोको खराबी, डेंगु, मष्तिस्कघात, एपेन्डिसाइटिस, मेनेन्जाइटिसजस्ता रोगका कारण नेपाली कामदारको मृत्यु हुने गरेको छ । रेलको ठक्करबाट, बसबाट खसेर, करेन्ट लागी जलेर, हत्या, सुतिरहेको अवस्थामा, छातीको खराबी, अग्लो घरबाट लडेर पनि कामदारको मृत्यु हुने गरेको उनले बताए । 

मलेसियामा पछिल्लो तथ्यांकअनुसार तीन लाख ८३ हजार नेपाली कामदार रहेका छन् । प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको संख्या एक लाख हाराहारी रहेको अनुमान गरिएको खरेल बताउँछन् ।  



पछिल्लो समयमा श्रमसम्झौता कार्यान्वयन हुन नसक्दा नेपाली कामदार मलेसिया आउन पाएका छैनन् । जसका कारण मलेसियामा रहने कामदारको संख्या घटेको हो । यसअघि सात लाख हाराहारी नेपाली मलेसियामा रहेको तथ्यांक थियो । 

कार्यवाहक राजदूत खरेल नेपाली कामदारमा आवश्यक सीप, क्षमतासँगै यहाँको वस्तुस्थितिका बारेमा ज्ञान नहुँदा विभिन्न कारणले मृत्यु हुने गरेको बताउँछन् । उनले मलेसियामा रहेका र आउन चाहने कामदारले यहाँको वस्तुस्थिति, कानुन, भाषालगायतका विषयमा राम्रो ज्ञान लिनुपर्ने बताए । 



उनका अनुसार दैनिक दुई सयहाराहारी कामदारले लिखित र मौखिक गुनासा राजदूतावासमा गर्ने गरेका छन् । अधिकांशले मौखिक रूपमा आफ्ना समस्या राख्ने गरेको उनले बताए । अधिकांशले तोकिएको तलब नपाएको, आउँदा तोकिएभन्दा फरक काम गर्नुपरेको, नेपाल फर्किन चाहेकोजस्ता गुनासो गर्ने गरेका छन् । 

नेपालबाट वास्तविकता नबुझी आउने कामदारले यहाँ आएपछि सोचेजस्तो नहुँदा नेपाल फर्किन चाहने गर्दछन् । नेपाल फर्किन नपाए आत्महत्यासमेत गर्ने गरेको पाइएको छ । 

दूतावासका जनसम्पर्क अधिकृत रवि भट्टका अनुसार कामदारको मृत्युपछि शव पठाउनसमेत समस्या हुने गरेको छ । अवैधानिक रूपमा बसेकाको मृत्यु भएमा उनीहरूको परिवारलाई सम्पर्क गरी शव पठाउने गरेको उनले बताए । 

परिवारको आर्थिक अवस्था कमजोर भएकालाई दूतावासले समेत खर्च गरेर पठाउने गरेको उनले बताए । वैधानिक रूपमा काम गरिरहेकाको हकमा कम्पनीले शव पठाउन खर्च गर्ने गरेको छ । 
 

  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १७:१८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया