लमजुङका उच्चपहाडी भू-भागमा हिमपात

मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । आइतबार दिउँसोदेखि लमजुङको उच्च पहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ ।

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घले गाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । समुद्री सतहदेखि २२ सय मिटर उचाइमा रहेको मर्स्याङ्दी गाउँपालिकाको घनपोखरामा पनि हिमपात भएको छ । स्थानीय सुलबहादुर गुरुङका अनुसार घनपोखरामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

मर्स्याङ्दी गाउँपालिका–३ को पर्यटकीय गाउँ सिउरुङमा पनि हिमपात भएको छ । यस्तै लमजुङको बेंसीसहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । पिसहिलका व्यवस्थापक होमलाल तामाङले समुद्री सतहबाट १९६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा आइतबार दिउँसोदेखि हिमपात भएको बताए ।

घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी​ गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेकसमेत हिउँले ढाकेको छ । यस्तै पूर्वीभेगका दूधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायतका उच्च पहाडी भेगमा समेत आइतबार दिउँसोदेखि हिमपात भएको छ । 

बाँझाखेतको खाँचे र गाउँभाचोकको बस्तीनजिकैको डाँडामा पनि बाक्लो हिमपात भएको छ । पूर्वी भेगका इलमपोखरी, विचौर र  दूधपोखरी गाउँको उच्च पहाडी चुचुरोहरूमा समेत हिउँ परेको छ ।  





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार ८:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया