एमसिसी टेबल हुँदा माओवादीले देखाएको दोहोरो चरित्रको सन्देश के ?

अमेरिकी सहयोग परियोजना (एमसिसी) प्रतिनिधिसभामा टेबल भएसँगै पाँच दलीय गठबन्धन टुट्ने संभावना बढ्दै गएको छ ।

विशेषगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसी संसदमा टेबल हुँदै गर्दा दोहोरो चरित्र प्रस्तुत भएपछि आलोचना बढेको छ ।

सत्तारूढ मुख्य घटक नेपाली कांग्रेस जसरी पनि संसदबाट एमसिसी सम्झौता अनुमोदन गर्ने तयारीमा छ । एमसिसी टेबल भइसकेपछि संसद भवनबाट निस्कँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्,-संसदमा टेबल भयो, अब पास हुन्छ ।

देउवाले यसो भनिरहँदा सत्तामै रहेका अरू दल भने यथास्थितिमा एमसिसी पास नहुने दाबी गरिरहेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा टेबुल भइसकेपछि सामाजिक सञ्जालमार्फत भनेका छन्,- ‘हाम्रो पार्टी र संसदीय दलले यथास्थितिमा एमसिसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति नै जारी गरेर एमसिसीको पक्षमा पार्टी नभएको स्पष्ट पारेका छन् । तर, रोचक दृश्य चाँहि के देखियो भने एमसिसी संसदमा टेबल हुँदै गर्दा माओवादीका केही सांसद उठेर विरोध गरे, केहीले मौन समर्थन गर्दै कुर्सीमै रहे ।



त्यसअघि आइतबार नै बसेको सत्ता गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डले देउवालाई मौन समर्थन गरेर अघि बढिसकेका थिए ।

मौन बस्नुको सन्देश के ? 



यतिबेला माओवादी अध्यक्ष प्रचण्डलाई गठबन्धन पनि जोगाउनु छ, एमसिसीका बारेमा पनि सहमति निकाल्नु छ । प्रचण्ड र उनको पार्टीले भनेजस्तै संशोधन गरेर मात्र एमसिसी अनुमोदन हुने अवस्थामा छैन । किनभने अमेरिकाले संशोधन गर्ने भए फिर्ता नै लिएर जाने चेतावनी दिइसकेको छ । 

उता, प्रचण्ड र देउवा आफैंले एमसिसी अध्यक्षलाई पत्र लेखेर केही समय मागेका थिए । त्यही समय पूरा हुनै लाग्दा बढेको दबाबका बावजुत प्रधानमन्त्री देउवा अघि बढेपछि प्रचण्डलाई सकस परेको हो ।

अर्कोतर्फ, प्रचण्डलाई पार्टीभित्रैबाट पनि चर्को दबाब छ । एमसिसीको विरुद्धमा चर्को आवाज उठाइरहेका नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रेखा शर्मा, वर्षमान पुन, जयपुरी घर्ती लगायतले एमसिसी यथास्थितिमा पारित नगर्न प्रचण्डलाई घचघचाइरहेका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग साँठगाँठ बढाएको सुइँको पाएपछि प्रचण्ड केही ब्याक भएका हुन् । स्थानीय निर्वाचन नजिकिँदै जाँदा प्रचण्डले गठबन्धन र आफू सुरक्षित हुने गरी एमसिसी टेबुल हुँदा मौन बसेको एक नेताको बुझाइ छ ।

माओवादीको धारणा चाहिँ के ? 

संसदमा एमसिसी टेबुल हुनुभन्दा अघि प्रचण्ड बालुवाटार पुगेका थिए । बालुवाटार बैठकका निष्कर्ष सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबुल गर्ने सहमति भएको सुनाए । 

त्यतिन्जेल माओवादी र नेकपा समाजवादीका कार्यकर्ता नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका लागि उत्रिसकेका थिए । केहीबेरमा सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । जहाँ नेकपा माओवादीका तर्फबाट देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले लिखित असहमति नै दर्ज गरे । 

एमसिसीमा माओवादीका हार्डलाइन मानिएका यी नेताले पनि प्रचण्डकै सल्लाहमा आफ्नो असहमति दर्ज गरेका थिए । त्यसलाई ध्यानाकर्षणको विषय बनाएको बताउँदै केहीबेरमा सभामुखले बैठक सुरु गरेपछि झनै छर्लंग देखियो- प्रचण्ड रणनीति । 

माओवादीबाटै प्रतिनिधित्व गर्ने केही सांसदहरू प्रचण्डकै पछाडि बसेर विरोध गरिरहेका थिए । बाहिर भने कार्यकर्ताहरू एमसिसी टेबल गर्न नहुने भन्दै उग्र प्रदर्शन गरिरहेका थिए । 

किन विरोधमा उत्रिएन माओवादी ?

यसरी सडक र सदनमा सत्तारूढ दलकै दुईथरी व्यवहार प्रदर्शन भएपछि चर्को आलोचना सुरु भएको छ । हामीले सडकमा मात्र आन्दोलन तर एमसिसी टेबल हुँदा त समर्थन गर्नुभयो नि ? भन्दै माओवादी नेतृ रेखा शर्मालाई सोधेका थियौं । 

उनी भन्छिन्, ‘हामी सुरुदेखि नै नेकपा हुँदादेखि महाधिवेशनसम्म एउटै कुरा भनिरहेका छौं । हामीले द्वैध चरित्र प्रस्तुत गरेका छैनौं ।’

माओवादीको एउटै मत भएको भन्दै उनले भनिन्, ‘हिजो टेबल हुँदाखेरी त्यस्तो देखियो । तर पनि असहमति हामीले दलकै तर्फबाट व्यक्त गरेका हौं । जहाँसम्म गठबन्धनको बैठकको कुरा छ, त्यहाँ अध्यक्षले असहमति राख्नुभएको थियो । त्यही अनुसार हामीले परामर्श समितिमा पनि आफ्नो धारणा राखेका थियौं ।’

एमसिसीकै कारणले गठबन्धनमा समस्या आएको उनले बताइन् । यथास्थितिमा पास गर्छौं भनेर लागेको खण्डमा माओवादी विपक्षमा जाने उनले बताइन् । 

उनले भनिन्, ‘बल्ल औपचारिक रूपमा कन्टेन्टमा प्रवेश गर्ने भयौं । अहिलेसम्म टेबल गर्ने वा नगर्ने भन्नेमा थियो । त्यो अडान अहिले पनि यथावत कायम छ । अब प्रस्तुत हुने विषयमा हामीले जे भन्दै आएका थियौं, त्यो संशोधन हुनैपर्छ ।’ 

गठबन्धन फुटाएरै भए पनि यथास्थितिमै एमसिसी पास गर्नुपर्छ भन्ने विषयमा आफूहरूको विरोध रहने पनि उनले बताइन् । 

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १३:५०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया