बाँदरका आनीबानी र स्वभावः महिलालाई किन झम्टिन्छ बाँदर ?

मान्छे पुच्छर नभएको बाँदर

आमबुझाइ छ, बाँदरको पुच्छर हुन्छ । तर, यो गलत हो । विश्वमा पाइने २ सय ३४ प्रजातिका बाँदरमध्ये ५ प्रजातिको पुच्छर हुँदैन । नेपालमा विश्वभर पाइने बाँदरमध्ये पाँच प्रजातिका बाँदर मात्र पाइन्छन् । नेपालमा हिमाल, पहाड र तराई सबैतिर बाँदर पाइन्छन् । धेरैको बुझाइ छ, बाँदरको पुच्छर अवश्य हुन्छ । तर, पाँच प्रजाति बाँदरको पुच्छर हुँदैन । त्योमध्ये एउटा त मान्छे नै हो ।

मानिसमा हुने गुण र बाँदरमा हुने गुणमा धेरै समानता छ । त्यसैले पनि बाँदरलाई हाम्रो पुर्खा भनिएको हो । प्रजाति जे भए पनि बाँदरहरुमा एउटा उस्तै स्वभाव हुन्छ । त्यो हो– समूहमा बस्ने । सबै प्रजातिका बाँदर एक्लाएक्लै बस्दैनन्, समूहमा बस्छन् ।

बाँदरको आनीबानी र खानपिन

बाँदरहरु स्वभावैले जिज्ञासु हुन्छन् । पहिलो पटक झट्ट देख्दा वा बाँदरको नजिक पुग्दा बाँदर छुच्चो लाग्छ । किनकि उसले मान्छेलाई पछ्याउँछ, नक्कल गर्न खोज्छ । तर, यो उनीहरुको स्वभावमात्र हो । बाँदरले त मानिसकै स्वभाव सिक्न खोज्छ । अझ राता बाँदरहरु यो मामिलामा चलाख हुन्छन् । उनीहरु मानिसका मात्र होइनन्, फेरिँदै गएको प्रकृतिबारे पनि अनुभव गरिरहेका हुन्छन् ।

विडम्बना ! बाँदरको जिज्ञासु स्वभावलाई नै मानिसहरु चकचके भनिदिन्छन् । बाँदरको एउटा अचम्मको स्वभाव छ– ऊ आफू अनुकूल वातावरणमा भिज्दै जान्छ । वरपरको वातावरण जस्तो भयो, त्यस्तै बन्नु उसको स्वभाव हो । ऊ वातावरण अनुसार आफूलाई अभ्यस्त बनाउँदै लैजान्छ । बाँदरको अर्को विशेषता भनेको उसको स्मरणशक्ति हो । स्नायु प्रणालीका साथै उसमा स्मरणशक्ति पनि निकै शक्तिशाली हुन्छ । एकपटक देखेको कुरा बाँदरले हत्तपत्त बिर्सँदैन । बाँदरले पुच्छरमा ढुंगा बेरेर हिर्काउँछ भनिएको हुन्छ । तर, त्यस्तो होइन ।



बाँदरले त शरीरको सन्तुलन मिलाउन मात्र पुच्छरको प्रयोग गर्छ । कतिसम्म नेपालमा पाइने बाँदर त पुच्छरमा मात्र झुन्डिएर बस्न सक्दैनन् । बाँदर सामूहिक प्राणी हो । ऊ सकेसम्म झुन्डमा बस्न रुचाउँछ । झन् विपद्को समयमा बाँदरहरु एक झुन्ड हुन्छन् र समस्या समाधान गर्न लाग्छन् । कसैसँग झगडा गर्नु परेको समयमा होस् या शत्रुसँग कुनै युद्धमा जानु परेको बेला नै किन नहोस्, बाँदरहरु समूहमा जान्छन् । उनीहरु आफ्नै समूहको सदस्यको गल्ती छ भन्ने थाहा हुँदा पनि पहिले विपक्षीमाथि आक्रामक हुन्छन् ।

विपक्षीलाई परास्त गरेपछि मात्र आफ्नो समूहमा छानबिन सुरु गर्छन् । त्यस्तो समयमा बाँदरहरुले गल्ती गर्ने बाँदरलाई सम्झाउँछन्, बुझाउँछन् र आवश्यक परेको खण्डमा थप्पडसमेत लगाउँछन् । यदि बाँदरले ठूलो र अक्षम्य गल्ती गरेको रहेछ भने उसलाई समूहबाट निष्कासन समेत गरिन्छ । गल्तीमा यसरी सम्झाउने बाँदरले माया पनि उस्तै गर्छ । हामीले पनि कहिलेकांही देखेका हुन सक्छौँ– एउटा बाँदरले अर्को बाँदरको जुम्रा हेरिदिएको, कन्याइदिएको, गाला मुसारिदिएको, मुख जोडिरहेको । यो खासमा बाँदरको माया दर्शाउने शैली हो ।



खानपिनको विषयमा बाँदरहरु सजग हुन्छन् । अधिकांश प्रजातिका बाँदर शाकाहारी हुन् । तर, केही केही बाँदरले चाहिँ किराफट्याङ्ग्रा र चराका अन्डा पनि खान्छन् । नेपालमा पाइने लंगुर प्रजातिका बाँदर पूर्णरुपमा शाकाहारी हुन् । त्यसो त केही बाँदरले नदीका माछा, छेपारो, भ्यागुता पनि खान्छन् । अझै अफ्रिकाका चिम्पान्जीले अन्य प्रजातिका बाँदर मारेर खान्छन् ।

बाँदरको सेक्स, फ्यामिली र रिलेसन

हामी नेपालीको जस्तै बाँदर पनि संयुक्त परिवारमा बस्छ । आफ्नै परिवारका सदस्यहरु मिलेर एउटा समूह बनेको हुन्छ । बाँदरको परिवारमा पनि आमाबुवा, दाजुभाइ, दिदीबहिनीलगायतका सम्बन्ध हुन्छन् । जसरी मानिसको हाडनाता सम्बन्धमा विवाह हुँदैन, बाँदरको पनि त्यस्तै गरि हाडनातामा सम्बन्ध हुँदैन । एउटै फ्यामिली रिलेसनभित्र बाँदरको सेक्स हुँदैन ।

पोथी बाँदर महिलाजस्तै रजस्वला हुन्छे । उनीहरु मौसम परिवर्तनको समयमा वा वर्षा मौसम सुरु हुँदा गर्भाधानका लागि तयार हुन्छन् । त्यो समयलाई नै बाँदरको प्रजननका लागि सबैभन्दा राम्रो समय पनि मानिन्छ । यस्तो समयमा भाले बाँदरहरु पोथीको खोजीमा अर्को समूहमा पनि जान्छन् । त्यसरी जाँदा अर्को समूहले भाले बाँदरहरुलाई आक्रमण गर्दैनन् । बाँदरको बच्चा जन्मिन ६ महिनादेखि १० महिनासम्म लाग्छ । सामन्यतया एउटा पोथी बाँदरले एउटा मात्र बच्चा जन्माउछे । तर, विशेष परिस्थितिमा एउटै बाँदरले ४ वटा बच्चासम्म जन्माएको रेकर्ड पनि छ । बाँदरमा २ वर्षको जन्मान्तर हुनु पर्ने हो तर सहरी बाँदरले एकै वर्षमा दुईपटक सम्मा बच्चा जन्माएको पनि भेट्न सकिन्छ ।

यो फेरिएको जीवनशैली र खानपिनका कारण हो । प्रजननका विषयमा सबैभन्दा अचम्म के भने बाँदरले कहिल्यै पनि दिउँसो बच्चा जन्माउँदैन । अरु जनावरले आक्रमण नगरोस् भन्नका लागि पनि बाँदरले सधैं रातीमात्र बच्चा जन्माउँछ । बच्चा जन्मिएको पहिलो दिन बाँदरको बच्चालाई आमाले मात्रै छुन्छे । अरु कसैलाई पनि छुन नदिने चलन नै हुन्छ । भोलिपल्ट पनि परिवारका महिला सदस्यले मात्र छुन पाउँछन् । दिदीबहिनी तथा आमाहरुले स्याहारसुसार गरेको निकै दिनपछि मात्र भालेले बच्चा बाँदरलाई छुन पाउँछ । यो चाहिँ पोथी बाँदर भालेप्रति विश्वस्त नभएर हो ।

अर्को रोचक कुरा के भने पोथी बाँदरले आफूले जन्माएको बच्चा कुन भाले बाँदरको हो भन्ने कुरा सहजै थाहा पाउँछे । त्यो भाले बाँदरसँग पोथी बाँदर नडराउने हुँदा बच्चाले पनि सहजै आफ्नो बाबुको पहिचान गर्छ । अनि त्यो भाले बाँदरले पनि बच्चालाई माया नै गर्छ । जन्मिएको एक महिनापछि बाँदर अलिक स्वतन्त्र हुन्छ, उसले आफ्नो खाना आफैं खोजेर खानसक्ने हुन्छ ।  

महिलालाई किन आक्रमण गर्छ बाँदरले ?

हामीले सुन्दै आएका छौँ– बाँदरले महिलामाथि आक्रमण गरिहाल्छ, झम्टिन्छ वा चिथोर्छ । तर, यो सत्य होइन । खासमा महिलाहरु पुरुषभन्दा अलिक डराउने स्वभावका भएकाले यस्तो भान भएको हो । बाँदर नजिक पर्यो कि चिच्याउने, तर्सने वा ढुंगाले हान्न खोज्ने भएकाले महिला देखेपछि बाँदर अकि सतर्क भएको मात्र हो । त्यसैले बाँदरको नजिक पर्दा उसले हात मात्र हल्लाउँदा पनि उसले आक्रमण गर्न खोजेको हो कि भन्ने भान हुनसक्छ । त्यसो त केही पोथी बाँदरले महिनावारीको समयमा केही उच्छृङ्खल गतिविधि देखाउने गरेको पनि पाइन्छ ।

त्यसलाई पनि हामीले आक्रमण भनेर बुझेका हुनसक्छौँ । फेरि महिलाको रंगीविरंगी कपडा देखेर पनि बाँदरले अलिक बढी चासो दिएको हो । सानो बतासले उडाउने लुगा लगाउनेलाई, शरीर पूरै नढाक्ने कपडा लगाउनेलाई बाँदरले निश्चित रुपमा बढी फलो गर्छ, सताउँछ ।  

बाँदरका अनेक फाइदा

बाँदरले चाहेर नै मानिसलाई बेफाइदा गर्दैन । उसको वासस्थान बिग्रिएको खण्डमा चाहिँ केही समस्या हुनसक्छ । त्यस्तो समयमा मानववस्तीमा पस्ने, अन्नबाली खाइदिने गर्छ । मठमन्दिरतिर हुने बाँदरहरुले वातावरण फोहोर पनि गर्छन् । तर, यी बेफाइदाका तुलानामा बाँदरका फाइदा धेरै छन् । हामीले ती कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ । जस्तो कि बाँदरको दृश्य शक्ति सिधा र तीक्ष्ण हुन्छ । चराहरुले पनि नदेखेका फलफूल बाँदरले देख्छ । यसले गर्दा बाँदरले फलफूलहरुको विविधिकरणमा सहयोग गर्छ ।

 

बोटबिरुवाको विविधिकरण गरेर पर्यावरण सन्तुलनमा पनि बाँदरको निकै सहयोग हुन्छ । अझ पछिल्लो समय गरिएका अध्ययनअनुसार बाँदरको पेटमा बिऊ अंकुरण गर्न सक्ने तत्व हुन्छ भन्ने पाइएको छ । यसले गर्दा एक ठाउँका बोटबिरुवाहरु अर्को ठाउँमा पुग्ने सम्भावना पनि उत्तिकै हुन्छ । अर्को कुरा, प्राकृतिक प्रकोपहरुबारे बाँदरले पूर्वसुचना दिन्छ । भूकम्प जानुअघि, बाढी आउनुअघि, ज्वालामुखी आउनुअगाडि बाँदरले अनौठो आवाज निकाल्छ । त्यो पहिचान गर्ने हो भने मानिसलाई मात्र होइन, अन्य जनावरलाई पनि फाइदा नै हुन्छ ।

मानिसकै लागि त बाँदरले निकै ठूलो गुण लगाएको छ । औषधि विज्ञानको प्रयोगमा हेर्ने हो भने बाँदरलाई परीक्षण गरेपछि मात्र औषधि मानिसमा प्रयोग गरिन्छ । हामीले ज्वरो आउँदा खाने सिटामोल पनि सबैभन्दा पहिले बाँदरमा नै प्रयोग भएको थियो । अरु स्त्रीसँग सम्बन्धित विभिन्न रोगबारे अनुसन्धान गर्न पनि बाँदरको प्रयोग गरिन्छ । त्यसैले, मानिसका लागि त बाँदर फाइदै फाइदा हो ।

(फरक धारकी समिक्षा अधिकारीसँग गरेको कुराकानीमा आधारित)

  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया