नेपाली क्रिकेट टोलीका चार खेलाडीले आफ्नो टि-२० वरीयता सुधार गरेका छन् । ओपनर कुशल भुर्तेल आइसिसी टि-२० वरीयताको ब्याटिङतर्फ ९ स्थान सुधार गर्दै ३९ औं स्थानमा पुगेका छन् ।
आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार कुशल ४८९ रेटिङ प्वाइन्टका साथ ३९ औं स्थानमा पुगेका हुन् ।
ओमानमा जारी आइसिसी पुरुष टि-२० विश्वकप ग्लोबल छनोटमा कुशलले चार खेल खेल्दा एक शतकसहित कुल १५० रन बनाएका छन् ।
दिपेन्द्रसिंह ऐरी पनि तीन स्थान सुधार गर्दै ५० औं स्थानमा उक्लिएका छन् । ४५४ रेटिङ प्वाइन्ट प्राप्त गरेका उनले ग्लोबल छनोटमा ४ खेल खेल्दा एक अर्धशतकसहित १५९ रन बनाएका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम ८०५ रेटिङ प्वाइन्टका साथ शीर्ष स्थानमा छन् ।
पाकिस्तानकै मोहम्मद रिजवान, दक्षिण अफ्रिकाका एडिन मार्करम, इंग्ल्यान्डका डेविड मलान, न्युजिल्यान्डका डिभोन कोन्वे, भारतका केएल राहुल, अस्ट्रेलियाका ओरोन फिन्च, दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेन, न्युजिल्यान्डका मार्टिन गुप्टिल र भारतका विराट कोहली क्रमश: दोस्रोदेखि १० औं स्थानमा छन् ।
बलिङतर्फ कप्तान सन्दीप लामिछानेले लामो छलाङ मारेका छन् । ४६७ रेटिङ प्वाइन्ट प्राप्त गरेका उनी १६ स्थान सुधार गर्दै वरीयताको ४३ औं स्थानमा आइपुगेका हुन् ।
सन्दीपले युएईमा जारी टि-२० विश्वकप ग्लोबल छनोटमा चार खेल खेल्दा ९ विकेट हात पारेका छन् ।
अविनाश बोहरा १२ स्थान फड्को मार्दै ८६ औं स्थानमा उक्लिएका छन् । ४०५ रेटिङ प्वाइन्ट प्राप्त गरेका उनले उनले टि-२० ग्लोबल छनोटका चार खेलमा ७ विकेट लिएका छन् ।
बलिङतर्फ दक्षिण अफ्रिकाका तावरेज शाम्सी ७८४ रेटिङ प्वाइन्टका साथ शीर्ष स्थानमा छन् ।
अस्ट्रेलियाका जोस हेजलउड, इंग्ल्यान्डका आदिल राशिद, श्रीलंकका वानिन्दु हसरंगा, अस्ट्रेलियाका एडम जाम्पा, अफगानिस्तानका राशिद खान, अफगानिस्तानकै मुजिब उर रहमान, दक्षिण अफ्रिकाका एनरिच नार्खिया, अस्ट्रेलियाका एस्टोन अगर र पाकिस्तानका साहब खान क्रमश: दोस्रोदेखि १० औं स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।