ओलीले भने– हामीले एमसिसीलाई राष्ट्रघाती भनेका छैनौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न एमालेले सहयोग गर्ने संकेत गरेका छन् । 

बिहीबार भएको नेपाली कांग्रेसका नेताहरुसँगको र नेकपा माओवादी केन्द्रका नेताहरुसँगको भेटमा ओलीले राखेको धारणाबाट यस्तो संकेत स्पष्ट भएको हो ।

बिहीबार संसद बैठक स्थगित भए पछि संसद भवन बानेश्वरमा नै एमाले अध्यक्ष अ‍ोलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए । 

भेटमा देउवाले एमसिसी पारित गर्न एमालेको साथ चाहेको बताएका थिए भने प्रचण्डले एमसिसीमा कम्युनिस्ट पार्टीहरुको एक स्वर हुनु पर्ने भन्दै यसको विपक्षमा एमालेलाई माओवादीसँग उभिन अनुरोध गरेका थिए । तर, दुवै नेतालाई ओलीले स्पष्ट जवाफ दिएका छैनन् । दुवैसँग उनले पहिले आफ्ना मागहरु पूरा भएको खण्डमा आफूहरुले एमसिसीबारे धारणा बनाउने बताएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा ओलीसँगै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी थिए । त्यस्तै, यही बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ पनि सहभागी थिए । 

छलफलमा गुरुङले एमसिसी सम्झौतालाई राष्ट्रघाती सम्झौताको संज्ञा दिएका थिए । प्रचण्डले पनि यस्तै बताएपछि ओलीले आफूहरुलाई एमसिसीलाई कहिल्यै राष्ट्रघाती सम्झौता नभनेको बताएका थिए ।



‘एमसिसी राष्ट्रघाती सम्झौता हुन्थ्यो भने मेरो पालामा त्यसलाई अगाडि बढाउने थिइनँ, हामीले एमसिसीलाई कहिल्यै राष्ट्रघाती भनेका छैनौँ,’ ओलीको भनाइलाई छलफलमा सहभागी एक नेताले उद्धृत गरे ।



  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ७:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया