\
नेपाली सिने क्षेत्रमा पछिल्लो समय पर्दामा निकै रुचाइएको जोडी हो, पल शाह र पूजा शर्माको जोडी । कुनै समय यी दुई रिलमा मात्र होइन, रियल लाइफमा पनि अफेयरमा छन् भन्ने चर्चा चल्थ्यो ।
यी दुईले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछु–२ आजबाट सिनेमाघरहरुमा लाग्दै छ । यही फिल्मको बुधबार कीर्तिपुरमा प्रिमियर गरिएको थियो ।
त्यही प्रिमियरमा जब पलबारे सन्चारकर्मीले पूजालाई सोधे, उनी भक्कानिएर रोइन् । यो कार्यक्रममा पहिले पल पनि सहभागी हुने तय भएको थियो । तर, नाबालिक किशोरीमाथि बलात्कार गरेको किटानी उजुरी प्रहरीमा परेपछि उनी कार्यक्रममा उपस्थित भएनन् ।
त्यसपछि रुँदै पूजा शर्माले भनिन्, ‘जोडी भएर मनकामना जानु हुँदैन रहेछ। हाम्रो टिमलाई एउटा बज्रपातले टाउकोमा घेरेजस्तो महसुुस भएको छ। तर पनि जिन्दगीमा दुःखपछि सुख आउँछ भनेर भनिन्छ। मैले दर्शकको आस गरेको छु, राम्रो फिल्म बनाउने कोसिस गरेका छौं। तर फिल्म बनाउँदा यस्तो हुन्छ भन्ने कहिल्यै सोचेनौं ।’
‘फागुन १३ गते फिल्म रिलिज हुँदैछ भनेर केही न केही उत्साह उमंग छाइरहेको थियो । फेरि कसको नजर लाग्यो थाहा छैन यति गर्दा पनि केही न केही चिजले आँखा लगाएको हो भने म यो क्षेत्रबाट आउट नै हुनुपर्छ जस्तो लाग्छ। किनभने मैले धेरै नै संघर्ष गरिरहेँ जिन्दगीमा र जहिले पनि संघर्ष गर्दागर्दै मिठाइ खान्छु भन्दा ढुंगा परिरहेको हुन्छ मलाई तर पनि मैले हिम्मत हारेको छैन।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।