केही दिनयता अभिनेता पल शाह र एक गायिकाबीचको विवादले सामाजिक सञ्जालका भित्ता रंगिएका छन् । दुईजनाको बीचको विवादले उग्ररूप लिएपछि घटना प्रहरीकहाँ पनि पुगिसकेको छ ।
ती गायिकाले पलले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपछि यो घटनाले झन् चर्चामा आएको हो । बिहीबार पलले आफूलाई फसाउनका लागि षडयन्त्र भरहेको भन्दै अडियो नै सार्वजनिक गरे ।
अडियोमा उनले आफ्नै सहकर्मीहरूले फसाउन खोजेको भन्दै नामै उल्लेख गरेका छन् । केही दिनअघि पलमाथि बढिरहेको आक्रोश अब उनका सहकर्मीतर्फ सोझिएको छ । यसैबीच, पीडित भनिएकी किशाेरीले पलले सार्वजनिक गरेका अडियो वास्तविकताभन्दा धेरै टाढा रहेको भन्दै खण्डन गरेकी छन् ।
उनले पलले सामाजिक सञ्जालमा अपलोड गरेको अडियो एडिटिङ गरेको र अपूरो रहेको बताएकी हुन् । उनले आफ्नो कमजोरी लुकाएर पीडितलाई झन् पीडित बनाउन खोजेको पनि आरोप लगाएकी छन् । पलले सार्वजनिक गरेको अडियोमा घटना मिलाउन पैसाको कुरा गरिएको पनि सुनिएको छ । यो विषयमा ती गायिकाले सबै कुरा झुट भएको बताएकी छन् ।
‘पैसाको कुरा एकदमै झुटो हो । नभएको कुरा गर्नुहुन्न । मैले आफ्नो पीडाहरू सहकर्मी साथीहरूलाई भनेको छु । सहकर्मी साथीहरूले दिएको सल्लाहसुझावलाई उहाँले अडियो रेकर्ड गरी, एडिट गरेर अपूरो रेकर्ड मात्र सार्वजनिक गरेर मेरो कमीकमजोरीहरूलाई देखाउन खोज्नुभएको छ,’ पीडित किशोरीले एक राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा भनेकी छन्, ‘त्यसमा भएका वास्तविक कुराहरूलाई लुकाइएको छ । त्यही कुरालाई आज उहाँले आफूलाई सबैले फसाउन खोज्नुभएको छ भनेर भन्नुभएको छ । त्यो कुराले म दुःखी छु । अडियो पूरा एडिट गरिएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।