एमसिसी पास गर्ने माओवादीका मन्त्रीको प्रस्तावमा नारायणकाजीको असन्तुष्टि !
फाइल तस्वीर

सत्ता गठबन्धनभित्र नयाँ सहमतिको प्रयास अघि बढिरहँदा माओवादी नेता नारायणकाजी श्रेष्ठले भने आफूहरू यथास्थितिमा एमसिसी स्वीकार नगर्ने बताएका छन् । 

माओवादी नेताहरू शुक्रबार बिहान खुमलटारमा जम्मा भएका थिए । एमसिसीबारे निर्णायक मोडमा पुग्नुपर्ने बेलामा माओवादीका मन्त्रीहरूले एमसिसीबारे मतदान हुँदा संसद बैठक बहिस्कार गर्ने प्रस्ताव राखेका थिए । 

तर, श्रेष्ठले भने बैठक बहिस्कार गर्ने र यथास्थितिमा यो प्रस्ताव अनुमोदनको लागि सहयोग गर्छ भन्नु गलत प्रचार भएको बताएका छन । 

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एमसिसीबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो । कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यममार्फत चलाउँदैछ ? सावधान !’

उनले पार्टीको आठौं महाधिवेशन र त्यसपछिका सबै छलफलहरूमा एमसिसी सम्झौताका बारेमा निकालेको निर्णय स्पष्ट भएको बताएका छन । 

उनले लेखेका छन,‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसिसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ । एमसिसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्विकार नगर्ने र संसदबाट पारित नगर्ने ।’



आफूहरू सोही अडानमा कायम रहेको बताउँदै नेता श्रेष्ठले यसलाई विफल पार्न विपक्षमा मतदान गर्ने बताए । ‘हामी त्यसैमा कायम छौँ । संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ,’ उनले भनेका छन । 

माओवादीका केही नेताहरूले एमसिसी पारित गर्दा संसद बहिस्कार गर्ने प्रस्ताव आज बिहानको छलफलमा राखेका थिए । नेता श्रेष्ठले सोही बैठकमा पनि एमसिसी यथास्थितिमा पारित हुन नहुने भन्दै आक्रोश पोखेका थिए । 



तर, माओवादी निकट स्रोतहरूले नै सो प्रस्ताव आएको सार्वजनिक मिडियालाई सूचना दिए । नेता श्रेष्ठ पहिल्यैदेखि एमसिसीको विरुद्धमा हार्डलाइनमा देखिँदै आएका छन । यद्यपी माओवादीले पक्ष वा विपक्षमा मतदान गर्ने भनेर आधिकारिक निर्णय भएको छैन । 

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरेर नेताहरू आन्तरिक सहमतिको प्रयासमा जुटेका छन ।

  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १५:३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया