एमसिसीका पक्षमा मतदान गर्न माओवादी र एकीकृत समाजवादी तयार, व्याख्यात्मक घोषणाबारे छलफल

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मत दिने भएका छन् । एमसिसीबारे प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गर्न देउवा तयार भएपछि सत्तारुढ दुई दल एमसिसीका पक्षमा मतदान गर्न तयार भएका हुन् । 

एमसिसीकै कारण गठबन्धन टुट्ने देखिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी अनुमोदनका लागि आवश्यक वातावरण बनाउन मद्दत गर्ने सन्देश प्रधानमन्त्री देउवालाई पठाएका छन् ।

एमसिसी संसदबाट पास गराउने माहोल बनाउन सत्तारुढ दलका युवा नेताहरुले सक्रिय भूमिका खेलेका छन् । कांग्रेसका महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेत र वरिष्ठ अधिवक्ता गोविन्द बन्दीको टोलीले व्याख्यात्मक घोषणाका लागि शीर्ष नेतृत्वलाई सहमत गराएका हुन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुको प्रयासले एमसिसी संसदबाट अनुमोदन हुने र पाँचदलीय गठबन्धन पनि जोगिने सम्भावना देखिएको छ । 

शनिबारै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेका शीर्ष नेतासँग छलफल गरेका थिए । 

ओलीलगायत एमाले नेताहरुले एमसिसीको पक्षमा आफूहरु सकारात्मक भएको, तर आफूहरुले राख्दै आएको माग पूरा हुनुपर्ने अडान राखेका थिए । यद्यपि, निरन्तरको एमालेसँग निरन्तर संवादमा रहेका प्रधानमन्त्री एमसिसी पास गराउन एमाले बाधक नबन्नेमा विश्वस्त छन् । 



युवानेताहरुले व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार पारिसकेका छन् । त्यसमा एमसिसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखा परीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषय समेटिएको बताइएको छ । 



  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २१:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया