काममा सुस्त, उत्सवमा मस्त महानगर
प्रधानमन्त्री अब महानगरको ‘ब्रान्डिङ’मा

काठमाडौं– काममा सुस्त भएको आरोप खेपिरहेको काठमाडौं महानगरपालिकाले भव्यतापूर्वक ‘महानगर दिवस’ मनाउने कार्यक्रम सार्वजनिक गरेको छ । इलेक्ट्रिक बस र सामाजिक सुरक्षा कार्यक्रमको तामझामका साथ ‘ब्रान्डिङ’ गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै महानगर उत्सवको पनि उद्घाटन गर्नेछन् ।

यसअघि आन्तरिक रुपमा मात्र मनाउने गरिएको ‘महानगर दिवस’ यसै वर्षदेखि हरेक मंसिर २९ गते खुला रुपमा मनाउने योजना बनाएको महानगरका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । यस वर्ष २४औँ महानगर दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा परम्परागत बाजागुरुहरुको सम्मान, उत्कृष्ट विद्यालय, सुशासन पत्रकारिता, उत्कृष्ट करदाता, कर्मचारी दीर्घसेवा पदक लगायत सम्मान गरिने शाक्यले बताए । कार्यक्रममा काठमाडौंका प्रथम मेयर जनकमान श्रेष्ठलाई पनि सम्मान गरिनेछ ।

अघिल्ला वर्षहरुमा कर्मचारीबीच मात्र महानगर दिवस मनाउने गरेको स्मरण गर्दै मेयर शाक्यले भने, ‘जनप्रतिनिधिहरु आइसकेपछि पहिलोपटक महानगर दिवस खुला रुपमा मनाउने योजना बनाएका छौँ ।’ महानगर सबैको हो भन्ने अनुभूति दिलाउन सबै क्षेत्र समेटेर महोत्सव आयोजना गरिएको उनले बताए ।

मंसिर २९ देखि पुस २ गतेसम्म चल्ने महोत्सवले पर्यटन उद्योगलाई टेवा दिने उद्देश्य राखेको महानगरले बताएको छ । २०५२ साल मंसिर २९ गतेबाट काठमाडौं महानगरपालिका घोषणा भएको स्मरण गरी हरेक वर्ष यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । 

चुनावमा ठूला–ठूला बाचा गरे पनि उल्लेखनीय काम गर्न नसकेको आरोप खेपिरहेका मेयर शाक्यले स्थानीय पहिचानका लागि खुला रुपमा उत्सव मनाउन खोजिएको बताए पनि यो महानगरको ‘ब्रान्डिङ’मै सीमित हुने कतिपयको शंका छ । प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने महानगर उत्सवलाई चासोका साथ हेरिएको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार २०:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया