धनुषाको एक सहकारी संस्थामा अध्यक्षले नै चोरी गरेको आरोप लगाइएको छ । जिल्लाको कमला नगरपालिका वडा नम्बर–६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष कामेश्वर मण्डलले चोरी गरेको संस्थापक अध्यक्ष रामदयाल महतोले आरोप लगाएका हुन् ।
जनकपुरधाममा आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी संस्थापक अध्यक्ष महतोले गत माघ १५ गते सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष मण्डलको संलग्नता रहेको दाबी गरेका छन् ।
सिंग्याही मडानस्थित साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयबाट २–३ थान ल्यापटप र २ हजार ५ सय रुपैयाँ चोरी भएको थियो । यद्यपि, अध्यक्ष मण्डलले कार्यालयबाट १६ लाख रुपैयाँ चोरी भएको भन्दै उजुरी दिएका थिए ।
जबकि संस्थापक अध्यक्ष महतोले सहकारीको कार्यालयमा १६ लाख रुपैयाँ राख्ने के प्रयोजन थियो भन्दै प्रश्न गरे ?
सहकारीका संस्थापक सदस्य सोभित महतोले संस्थाको रकम अपचलन गरेर त्यसलाई ढाकछोप गर्न अध्यक्ष मण्डल र प्रबन्धक बृजेन्द्रकुमार यादवले चोरीको नाटक रचेको आरोप लगाए ।
यता, उजुरीको आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेर जिल्ला अदालत धनुषामा मुद्दा चलाएको थियो । जिल्ला अदालत धनुषाले १ जनालाई पुर्पक्षका लागि पठाएको छ भने २ जनालाई ८०–८० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
संस्थापक सदस्य सोभित महतोले प्रहरीले वास्तविक चोरलाई पक्राउ नगरेको गुनासो गरेका छन् ।
२९ लाख रुपैयाँको पुँजीबाट सुरु भएको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको पुँजी १६ करोडसम्म पुगिसकेको छ भने सो सहकारीमा हाल १ हजार ३ सयभन्दा बढी शेयरधनी छन् । ०६१ सालमा दर्ता गराएर सो सहकारी संस्थाको सुरुवात गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।