अमेरिकाले ११ बुँदे व्याख्यात्मक टिप्पणी नमाने एमसिसी खारेज हुने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीमा गरिएको ११ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकालाई अमान्य भए एमसिसी खारेज हुने बताएका छन् ।

सोमबार दिउँसो खुमलटारस्थित निवासमा उनले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । आइतबार प्रतिनिधिसभाबाट एमसिसी अनुमोदित भए पछि प्रचण्डले यसबारे उठेका प्रश्नहरुको जवाफ दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

यही पत्रकार सम्मेलनमा उनले ११ बुँदे व्याख्या गरिएको र यो अमेरिकाले नमानेको खण्डमा एमसिसी सम्झौता खारेज हुने बताएका हुन् । ‘यो महाकाली सन्धिको जस्तो प्रस्तावना होइन,’ उनले भनेका छन्, ‘यसलाई अमेरिकाले मान्नैपर्छ, नमानेको खण्डमा एमसिसी सम्झौता खारेज हुन्छ ।’

यही पत्रकार सम्मेलनमा उनले आफूले यस्तो प्रस्तावको विषयमा एक वर्षअघि नै कुरा गरेको तर तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसमा तयार नभएको पनि बताएका छन् । ‘बरु प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा तयार हुनुहुन्थ्यो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘तर, केपी ओली एक शब्द पनि फेर्न हुँदैन भन्नेमा थिए । त्यसैकारण अहिलेसम्म एमसिसी आउन नसकेको हो ।’

उनले आफूले संकल्प प्रस्तावसहित एमसिसी पारित गर्ने बताए पनि आफूलाई यसमा भिलेनजस्तो बनाइएको पनि बताएका छन् । प्रधानमन्त्री देउवासँग मिलेर उनले अमेरिकालाई लेखेको चिठीका कारण आफूलाई डबल डिलर संज्ञा दिइएको उनले उल्लेख गरेका छन् ।

‘म त भिलेनजस्तो भएको छु,’ उनले भने, ‘डबल डिलर जस्तो भएँ, मेरो चाहना पहिले नै राष्ट्रिय सहमति होस् भन्ने थियो ।’



आफूले राष्ट्रिय सहमतिका लागि नै प्रधानमन्त्री देउवालाई बालकोट पठाएको पनि उनले दाबी गरेका छन् । तर, बालकोटमा ओलीले १४ सांसदमाथि कारवाही गरिनु पर्ने र सभामुख हटाउनु पर्ने रटान लगाएकाले राष्ट्रिय सहमति गर्न नसकेको पनि उनले बताएका छन् ।

उनले एमसिसीको नाममा गठबन्धन फुटाउने प्रयास भएको र शान्ति सम्झौतालाई नै उल्ट्याउने प्रयाससमेत भएको दाबी गरेका छन् । आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता भएकाले यसमा आफू गम्भीर भएको पनि उनले दाबी गरेका छन् ।



‘एमसिसीको नाममा गठबन्धन फुटाउन खोजियो,’ उनले भनेका छन्, ‘सरकारहरु फेरिने कुरा आए । तर, फेरि प्रतिगमन आउन नदिन हामीले एमसिसी पास गरेका हौँ, भएभरका उपलब्धि उल्ट्याउने खेल भएको भएपछि यो कदम चाल्नु परेको हो ।’


  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १६:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया