नेपाली साहित्यः आन्दोलन धेरै, परिणाम कम

नेपाली साहित्यको इतिहास त्यति लामो छैन । भानुभक्त आचार्यको उदयसँगै नेपाली साहित्यको जग बसेको मान्न सकिन्छ । नेपाली साहित्यको इतिहास पुगनपुग दुई सय वर्षको मात्र छ । भानुभक्तअघि पनि साहित्य नलेखिएको भने होइन, तर तीन प्रकाशनमा आउन सकेका थिएनन् । भानुपछि अहिलेसम्म नेपाली साहित्यले धेरै नै छलाङ मारिसेकको छ । 

नेपाली साहित्य अहिलेको अवस्थासम्म आइपुग्न धेरै साहित्यिक आन्दोलन भए । विभिन्न प्रयोग गर्नलाई र लेखनमा स्वतन्त्रता माग गर्दै विभिन्न आन्दोलन, खोज तथा अभियान पनि सञ्चालन गरिए । विभिन्न समयमा विभिन्न रूपमा भएका यस्ता विषयको खोज अनुसन्धान राम्रोसँग हुन सकेको देखिँदैन । कतिपय नेपाली साहित्यका आन्दोलन तथा अभियान चलाउनेबाहेकलाई थाहा नभएको अवस्था पनि छ ।

यस प्रकारका आन्दोलन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राजनीतिक विचारधारासँग जोडिएकाले पनि अगाडि बढ्न सकेनन् भन्न सकिन्छ । तिनीहरूले साहित्यमा प्रभाव पार्न नसकेको देखिन्छ ।

नेपाली साहित्यजगत्मा धेरै आन्दोलन भइसकेका छन् । साहित्यमा भएका विभिन्न आन्दोलनको बारेमा कुनै पनि ठोस दस्ताबेज भने छैन । सुनेका र कतै–कतै लेखिएका कुराका आधारमा नेपाली साहित्यमा भएका आन्दोलनको विवरण मात्र पाउन सकिन्छ । ती आन्दोलन कति प्रभावकारी भए, केका लागि आन्दोलन भएका थिए भन्ने प्रश्नको जवाफ पाउन पनि कठिन छ । 

विसं. १९६५ मा राममणि आ.दी.ले गरेको हलन्तबहिष्कार आन्दोलनलाई नेपाली साहित्यमा भएका आन्दोलनको सुरुवाती आन्दोलन मान्न सकिन्छ । आन्दोलनको उद्देश्य नेपाली साहित्यमा हलन्तको प्रयोगलाई बहिस्कार गर्नका लागि गरिएको थियो । 

यसअघि पनि आन्दोलन नभएका भने होइनन्, तर ती आन्दोलनका बारेमा कतै पनि कुनै जानकारी पाइँदैन । राजनीतिक रूपमा संलग्न रहेका लेखन आन्दोलनले बढी चर्चा पाएको देखिन्छ ।



२००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीले पाठशालामा भूगोल र इतिहासजस्ता विषय समावेश गर्न माग गर्दै ‘जयतु संस्कृतम् आन्दोलन’ सुरु गरे । श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद ब्राह्मण, अच्युतराज रेग्मीलगायतले यो आन्दोलन गरेका थिए । यद्यपि यो पूर्णतः साहित्यिक आन्दोलन भने होइन ।

देशमा राणाशासन थियो । राणाहरूले माग सुनुवाइको साटो उल्टै उनीहरूमाथि दमन गर्यो । त्यसपछि उनीहरू राणाविरोधी आन्दोलनमा सक्रिय भए । नेपाली इतिहासमा पहिलो विद्यार्थी आन्दोलनको रूपमा पनि यसलाई लिने गरिन्छ ।



२००७ सालमा श्यामप्रसाद शर्मा, गोविन्दप्रसाद लोहनी, कृष्णचन्द्रसिंह प्रधान, गोकुल जोही, देवीप्रसाद किसान, भूपी शेरचन, भवानी घिमिरेलगायतले साहित्यमा प्रगतिवादी लेखनका लागि ‘प्रगतिवादी साहित्यिक आन्दोलन’ गरे ।

त्यसपछिको समयमा नेपाली साहित्यजगत्मा प्रगतिवादी साहित्यले सैद्धान्तिक विमर्श, सिर्जना र समालोचनाजस्ता क्षेत्रमा राम्रो उपलब्धि गरेको देखिन्छ । सोही आन्दोलनमा उठाइएका लेखनका मुद्दालाई केन्द्रमा राखेर ‘प्रगतिशील लेखक संघ’जस्ता संस्थाको स्थापना पनि भएको छ । 

अर्कातिर, प्रगतिशील साहित्यको अवधारणाअनुरूप लेखिरहेकाहरू पनि विभिन्न पार्टीगत रूपमा विभाजन भएका छन् । जसको परिणामस्वरूप पार्टीगत तथा गुटगत विभाजन र संकीर्णता आएको पनि देखिन्छ ।

नेपाली साहित्यलाई नयाँ स्वरूपमा ल्याउन ‘आयामेली आन्दोलन’ ले भूमिका खेलेको छ । २०२०÷२१ सालमा इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरवल्लभको सामूहिकतामा आन्दोलन भयो । त्यतिबेलाको गतिशील साहित्यमा अंकुशभित्र रहेर गतिहीन जीवनको अभिव्यक्त मात्र गरिएका कारण आन्दोलन गरिएको भन्ने आन्दोलनका अगुवाहरूको मान्यता छ । 

साहित्यमा केही मात्रामा दर्शन, विज्ञान, केही विद्रोह र केही नयाँ विचार पनि आउनुपर्छ भन्ने उनीहरूको धारणा हो । मानिसले पाएको दुःखको कथाको आयतनमा मात्र साहित्य सीमित हुन सक्दैन र यसले घनत्व, वस्तुगत र समग्रतामा बाँडिनुपर्छ भन्ने विचार उनीहरूले राखेका थिए ।

नेपाली साहित्यमा पहिलादेखि नै आध्यात्मिक र राजामहाराजको गुणगानका कुरा मात्र लेखिने गरिने गरिन्थ्यो । नेपाली साहित्य मुख्य रूपमा कवितालाई केन्द्रित भएर ‘राल्फा २०२४ सालमा आन्दोलन’ गरियो । उनीहरू साहित्यमा आएको राजामहाराजाको विषयको विरुद्धमा लागेका थिए । कविता र गीत दरबारबाट बाहिर निस्किएर आउनुपर्छ भन्ने उनीहरूको मुख्य माग थियो । 

‘राल्फा’ समूहमा रामेश, रायन, मञ्जुल, पारिजातलगायत स्रष्टाहरू संलग्न थिए । २०३० मा उनीहरूबीच पनि विभाजन आयो । पारिजात, रायनलगायतले २०३१ सालमा ‘वेदना सांस्कृतिक समूह’ स्थापना गरे । 

२०२६ सालमा गठन भएको अस्वीकृत जमातले २०३१ मा ‘बुट पालिस आन्दोलन’ गर्यो । शैलेन्द्र साकार, मोहन घिमिरे, कविताराम, ध्रुव सोपकोटालगायतले आन्दोलनको अगुवाइ गरेका थिए । लेखनमा भुइँमान्छेको कथा पनि आउनुपर्छ भन्ने मागसहित न्युरोडको पीपलबोटमा भएको बुट पालिस आन्दोलनले राम्रै छाप छोड्यो । 

त्यो बेला पञ्चायती राज्यव्यवस्थाले पत्रपत्रिकामाथि लगाएको प्रतिबन्ध फुकाउनका लागि पनि आन्दोलन भएको थियो । ‘मन्त्र’ नामक साहित्यिक पत्रिकाको छपाइका लागि सहयोग जुटाउन र राज्यलाई सांकेतिक रूपमा दबाब दिनका लागि आन्दोलन भएको देखिन्छ । पछि २०७४ सालमा बानेश्वरमा यही आन्दोलनको स्वरूपमा कांग्रेसले पनि ‘बुटपालिस आन्दोलन’ गरेको थियो ।

आयामेली लेखनका अभियन्ता इन्द्रबहादुर राईसँगै कृष्ण धरावासी, रत्नमणि नेपाललगायतको अगुवाइमा २०३४ सालमा ‘लीलालेखन आन्दोलन’ भयो । जीवनको फरकफरक कोणबाट लेखिएको साहित्य लेखनलाई लीलालेखन भनिन्छ । एककोणबाट मात्र साहित्य नलेखिएर फरक कोणबाट पनि जीवनका सूक्ष्म चिजहरूलाई ध्यान दिएर सिर्जना हुनुपर्ने लीलालेखनको मान्यता हो । इन्द्रबहादुर राईको कृति ‘कठपुतलीको मन’मा लीला लेखनको प्रयोग भएपछि नेपाली साहित्यमा यसको विमर्श व्यापक रूपमा सुरु भयो ।

झापाली युवा सर्जकको नेतृत्व गर्दै भवानी घिमिरेको अगुवाइमा २०३९ सालमा ‘भोक कविता आन्दोलन’ भयो । यो आन्दोलनमा भवानी घिमिरेसँगै कृष्ण धरावासी, प्रकाश बुढाथोकी, हीरा आकाश, अमृतलाल श्रेष्ठलगायतको संलग्नता थियो । 

यो आन्दोलनको मुख्य उद्देश्य तत्कालीन व्यवस्थाको विरोध गर्ने, शारीरिक तथा मानसिक भोकलाई अभिव्यक्त गर्ने तथा शोषणरहित समाजको पक्षमा प्रतिबद्ध रहने थियो । अभाव, गरिबी र बेरोजगारीजस्ता सामाजिक विषयमा उनीहरूले काव्यात्मक रूपमा आन्दोलन गरेका थिए ।

पञ्चायती शासनविरुद्धमा भइरहेको जनआन्दोलनलाई समर्थन गर्दै २०४६ सालमा ‘जनआन्दोलन कविता’ अगाडि आएको थियो । युद्धप्रसाद मिश्रलगायत विभिन्न लेखक–कवि तथा कलाकारले यो आन्दोलनमा समर्थन जनाएका थिए । आन्दोलनले व्यापक रूप लिएको थियो । ५० दिनसम्म चलेको आन्दोलनमा तत्कालीन पञ्चायती शासकका विरुद्धमा उनीहरूले आवाज उठाएका थिए । आन्दोलमा प्रजातन्त्रवादी नेपाली लेखक तथा कविहरूको ठूलो समर्थन थियो ।

त्यसको ठीक १० वर्षपछि २०५३ सालमा ‘संरक्षण कविता आन्दोलन’ चल्यो । कविताको माध्यमबाट प्रकृतिको संरक्षण्को चेतनामा अभिवृद्धि गर्नका लागि आन्दोलन भएको थियो । गाउँले जनसमुदायमा कवितात्मक अर्थबोध र उत्पे्रेरणा प्रदान गर्ने ध्येय लिएर यो आन्दोलन आरम्भ भएको थियो । 

कवितामा संरक्षण र गाउँका कुरा आउनुपर्छ भन्ने मागसहित आन्दोलन सुरु भयो । साहित्यमा गाउँबाट आन्दोलन नभएको भन्दै सरुभक्त, हरिदेवी कोइराला, सरस्वती श्रेष्ठ ‘सरु’, नवराज अधिकारी, भूपिन व्याकुललगायतले आन्दोलन गरेका थिए ।

२०५६ सालमा राजन मुकारुङ, हाङयुग अज्ञात र उपेन्द्र सुब्बाको सामूहिकतामा ‘सृजनशील अराजकता’ नाममा साहित्यिक आन्दोलन भयो । वैचारिक अनेकता, सांस्कृतिक वैविध्य, नश्लीयताबोध, कवित्व निस्सीमता र सृजनात्मक निर्णयजस्ता मान्यतालाई आन्दोलनले अगाडि सारेको थियो । 

पारस्परिक सम्मान तथा एकअर्काको संस्कृति र धर्मलाई आँच नपुर्याई साहित्य सिर्जना गरिनुपर्छ भन्ने मान्यता उनीहरूले राखेका थिए । आन्दोलनअन्तर्गत कवितामा उत्तरआधुनिक चिन्तनअनुसार काव्यबिम्बको रूपमा सांस्कृतिक मिथकको प्रयोग भएको थियो ।

यसबाहेकका आन्दोलनको संख्या मात्र हेर्दा पनि नेपाली साहित्यमा निकै धेरै आन्दोलन भएका देखिन्छन् । झर्रोवादी आन्दोलन (विसं २०१३), अमलेख साहित्य आन्दोलन (विसं २०२६), शून्यवाद (विसं २०४०), तरलवाद (विसं २०४०), एक लाइन कविता आन्दोलन (विसं २०४३), बादरहित साहित्यिक आन्दोलन (विसं २०५५), लोकतान्त्रिक गणतन्त्रवादी साहित्यिक आन्दोलन (विसं २०५७), गणतान्त्रिक कविता आन्दोलन (विसं २०६१), विलयन लेखन (विसं २०६२), नेपाली भाषा बचाऊँ आन्दोलन (विसं २०६२), लोकतान्त्रिक साहित्यिक आन्दोलन (विसं २०६२), रहस्यमय काव्यिक खोज आन्दोलन (विसं २०६३), फाँसीवादविरुद्ध साहित्यिक आन्दोलन (विसं २०६३), गणतान्त्रिक सांस्कृतिक आन्दोलन (विसं २०६३ ) मिश्रणवाद (विसं २०६५) लगायतका विभिन्न आन्दोलन नेपाली साहित्यमा भए ।

राजनीतिक रूपमा भएका आन्दोलनले केही हदसम्म त्यो समयको राज्यव्यवस्थामा हलचल ल्याएका थिए । त्यसैगरी, विशुद्ध साहित्यिक रूपमा प्रयोग र वादलाई भिœयाउनलाई भएका आन्दोलन भने थोरै मात्रामा मात्र सफल भएका देखिन्छन् । साहित्य राजा–महाराजामा मात्र केन्द्रित नभएर अन्य विषयमा पनि केन्द्रित गर्न गरिएका आन्दोलन अहिलेको अवस्थामा सफल भएका देखिन्छन् । एक हिसाबले साहित्यमा ती आन्दोलनका कारणले विभिन्न फरकपन आएको छ भन्न सकिन्छ ।

राजनीतिक पृष्ठभूमिमा आधारित भई गरिएका आन्दोलनले भने राजनीतिलाई मात्र योगदान गरेको भन्न सकिन्छ । फेरि साहित्यले समाज सुधारको काम गर्छ भन्नेजस्ता कुरालाई यसले केही हदसम्म पूर्णता पनि दिएको छ ।

साहित्यिक आन्दोलनबाट नै जन्मिएका विभिन्न गुटउपगुट अहिलेको अवस्थामा साहित्यिक कम र राजनीतिक रूपमा बढी सक्रिय भएका छन् । प्रगतिशील लेखन आन्दोलनको अवशेषको रूपमा रहेको ‘प्रलेस’ संस्थाको विषयमा समयसमयमा विवादका कुरा आइरहेको सुन्न सकिन्छ । ‘प्रलेस’भित्र नै पनि बढी मात्रामा राजनीतिक हलचल भइरहेको पनि देख्न सकिन्छ । ‘प्रलेस’जस्तै अन्य साहित्यिक आन्दोलनबाट जन्मिएका संघसंस्थाको अवस्था पनि यतिबेला उस्तै रहेको देख्न सकिन्छ ।

तत्कालीन राज्यव्यवस्था र त्यसका निर्णयलाई लक्षित भई गरिएका आन्दोलनको असर परेको थियो । त्यस्ता आन्दोलन राजनीतिक व्यवस्थाका लागि लक्षित थिए । तिनीहरूले नै नेपालमा पञ्चायती शासनव्यवस्थालाई ढाल्न पनि योगदान दिएका थिए । जनआन्दोलनको समयमा पनि साहित्यको क्षेत्रबाट योगदान भएको थियो ।

अर्कातिर विभिन्न प्रयोग र वादलाई नेपाली सहित्यमा ल्याउनका लागि गरिएका आन्दोलनले भने केही छाप छोडेका छन् । ‘लीलालेखन’, ‘आयामेली लेखन’, ‘रंगवाद’लगायतका विभिन्न प्रयोग साहित्यमा भइरहेको छ । तर, केही प्रयोगका लागि भएका आन्दोलनले मूर्त रूप लिन नसकेको पनि साहित्य जगतमा देख्न सकिन्छ । 

‘शून्यवाद’लाई साहित्यमा सरुभक्तबाहेक निकै कमले प्रयोग गरेका छन् । त्यस्तै, सृजनशील अराजतकता, संरक्षण कविता आन्दोलनलगायतमा उठाइएका प्रयोग र मुद्दालाई साहित्यमा निकै कम मात्रामा प्रयोग गरिएको देखिन्छ ।

समग्रमा भन्दा नेपाली साहित्यमा भएका आन्दोलनको उद्देश्य केही हदसम्म मात्र पूरा भएको मान्न सकिन्छ । अर्कातिर, साहित्यलाई अहिलेको अवस्थामा ल्याउनका लागि भएका आन्दोलनका बारेमा साहित्यजगत्कै सर्जकहरू पनि जानकार नहुनुले अर्को गम्भीर प्रश्न खडा गरिदिन्छ । जसरी अहिलेको साहित्यमा समाजका कुरा आइरहेका छन्, हिजो तिनै कुरालाई ल्याउनुपर्छ भनी गरिएका आन्दोलनलाई कसैले पनि सम्झिएको देखिँदैन । 
 

  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार ८:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया