नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन : रेखा थापा

जबरजस्ती करणको जाहेरीपछि अभिनेता पल शाह (पूर्णविक्रम शाह) अहिले तनहुँ प्रहरी हिरासतमा छन् । उनी जाहेरी परेको पाँच दिनपछि प्रहरीकहाँ उपस्थित भएका थिए ।

ढिला गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका पलले यहीबीचमा आफूलाई फसाउन चालिएको षड्यन्त्र भन्दै केही अडियो सार्वजनिक गरे । अडियो सार्वजनिकपछि पलमाथि आक्रोशित भएका उनका समर्थकहरू अहिले पीडित किशोरीविरुद्ध खनिरहेका छन् ।  

समर्थक मात्र होइन कला क्षेत्रमा नाम चलेका केही व्यक्तिहरू पनि पल पीडित भएको भन्दै साथ गरिरहेका छन् । अभिनेत्री रेखा थापाले भने पीडित किशोरीको पक्षमा समर्थन गर्दै आएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पीडित किशोरीलाई हिम्मत नहार्न संकेत गरिरहेकी हुन् । राप्रपा नेतृसमेत रहेकी थापाले २० वर्षमुनिका छोरीहरू बालिका भएको भन्दै समाजले उनीहरूलाई संरक्षण दिनुपर्ने पनि उल्लेख गरेकी छन् । 

‘२० वर्ष मुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्नु हो,’ रेखाले फेसबुकमा लेखकी छन्, ‘को सँग लभ छ ? कतिपटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन ।’

उनले नेपालमा महिलामाथि नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन अहिले पनि व्याप्त रहेको पनि उल्लेख गरेकी छन् । ‘केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ,’ रेखाले लेखेकी छन् । 






  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार ९:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया