उनले ०७० सालमा एउटा कविता रचना गरे– पसिनाको जुलुस । ०७१ सालमा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा पठाए । उनको कविता छनाेट भयो ।
असीम सागर आफैँ श्रमजीवी थिए । उनी तरकारी व्यवसाय गर्थे । समाजमा उनीजस्ता हजारौँ श्रमजीवी थिए र अहिले पनि छन् । जो आइसक्रिम बेचेर गुजारा गरिरहेका छन् । कोही कपडा बेचेर जीवन धानिरहेका छन् त कोही देशको झन्डा बेचेर नेपाललाई चिनाइरहेका छन् । पसिना बेचेर जीवन चलाउनेमा उनी पनि पर्थे । उनले ती कुरालाई नजिकबाट नियालिरहे । श्रम गर्दा हुने दुःख–पीडा, भोग्नुपर्ने हरेक वेदना उनले प्रत्यक्ष अनुभव गरेका थिए ।
ती अनुभव उनको मनमा गढेर बसेको थियो । अन्तर्मनको गहिराइमा ती भावना जमेका थिए । तिनै भावनालाई उनेर उनले कवितामा रूपान्तरण गरे ।
‘कविता मस्तिष्कले होइन, मनले सिर्जना हुँदो रहेछ,’ उनी भन्छन्, ‘मनले जे महसुस गर्यो । त्यही अनुभूतिलाई कवितामा उतारेँ ।’
मान्छेहरू झन्डा–नक्सा किनेर आफ्नो कोठामा सजाउन लैजान्थे । परदेश जानेले चिनोको रूपमा लैजान्थे । ‘उनीहरूले आफ्नो श्रम बेचेर जीवन चलाइरहे,’ सम्झिँदै उनी भन्छन्, ‘तर, उनीहरूले आफ्नो स्वाभिमान बेचेनन्, आफ्नो श्रम मात्र बेचे ।’
तर, त्यही समाजमा अर्को एउटा वर्ग थियो, जसले श्रम गर्नेलाई हेलाको नजरले हेथ्र्यो । अवहेलना गथ्र्यो । सेवा गर्ने सर्तमा सत्तामा पुगेकाहरू ‘शासक’मा रूपान्तरण भएका थिए । उनीहरूले श्रम गर्नेको स्वाभिमान बुझेनन् । श्रमको मूल्य बुझेनन् । पसिनाको औचित्य बुझेनन् ।
देशको झन्डा, नक्सालगायत बेच्नेहरूकै छेउछाउमा देशलाई नै बेच्नेहरू पनि थिए । नेपालको सिमानालाई प्रत्येक दिन यता र उता बनाउनेहरू थिए । ‘श्रम गर्नेहरूले देशको झन्डा बेचे, नक्सा बेचे,’ असीम भन्छन्, ‘तर, नेताहरूले जस्तो देश नै बेच्ने प्रयत्न गरेनन् ।’
सिमानामा किल्ला सारिएको कुरा, सरकारको लाचारीपनको कुरा सुन्दा उनको मन दुखिरहन्थ्यो । श्रम गर्नेको सम्मान नहुँदा उनी पिरोलिइरहन्थे ।
यी यावत् कुराहरूले उनको मनलाई पिरोलिरह्यो । आफैँ पनि भोगिरहेका थिए । आममान्छेका भोगाइलाई उनको मनले बढी नै संवेदनामा अनुभव गरिरह्यो । उनी भन्छन्, ‘मैले, तपाईंले, हरेक आममान्छेले भोगेका कुरालाई शब्दमा उतारेँ र त्यसलाई कविताको रूप दिएँ ।’
श्रम गर्नेहरूको आवाज उनले कवितामा लेखे । सम्बन्धित पक्ष जिम्मेवार भइदिए, स्थिर भइदिए, श्रमको सम्मान हुन्थ्यो कि भन्ने उनको कविताको भाव थियो । श्रम गर्नेहरू नै नहुँदा हुन् त देशको अवस्था कस्तो हुन्थ्यो होला भन्ने भयलाई कवितामा उतारे । उनीहरूको आवाजलाई सम्बोधन गरेर उनको कविता सिर्जना भयो ।
कविताकी पात्र ‘धनमाया’ले आममानिसको पीडालाई बोलेकी छिन् । उनले ‘धनमाया’लाई प्रतिनिधि पात्र मात्र बनाएका थिए । तर, धनमाया उनी आफैँ पनि थिए । आज पनि सडकमा जुत्ता–चप्पल बेच्नेहरू छन्, चिच्याई–चिच्याई आइसक्रिम बेच्नेहरू पनि छन् । ती आममान्छे धनमायाको रूपमा कवितामा बोलिरहेका छन् ।
‘जुन पीडा हामी देखिरहन्छौँ, संघर्ष गरेर जीवन चलाउनेहरू सबै धनमाया हुन्,’ उनी भन्छन्, ‘सबैको आवाज बोल्न धनमायालाई कवितामा राखेको हुँ ।’
असीम सागर र पसिनाको जुलुस पर्यावाचीजस्तो भएको छ । उनको नाम आउनासाथ साहित्य जानेका मान्छेहरू ‘पसिनाको जुलुस’ कविता सम्झिन्छन् । तर, कविता सिर्जना गर्दा आफूमा कुनै त्यस्तो आशा नभएको उनको कथन छ ।
उनलाई त बस् कविता सिर्जना गर्नु थियो । आफूसँगै आफूजस्ता धेरैले भोगेको भोगाइलाई उतार्नु थियो । थुनिएका, गुम्सिएका र बोल्न नदिइएका आवाजलाई एकत्रित गरेर उनले कविताबाट संगृहीत आवाज मात्र निकाल्नु थियो । त्यसैलाई उनले कविताको माध्यमबाट उजागर गरेका थिए ।
तर, कवितामा उठाएको मुद्दा अहिले पनि ज्युँका त्युँ भएकोमा उनलाई दुःख पनि लाग्छ । भन्छन्, ‘अहिले पनि श्रमजीवीहरू त्यसरी नै बाँचिरहेका छन्, जसरी हिजो बाँचिरहेका थिए ।’ भोलिका दिनमा यसमा परिवर्तन आउनेमा भने उनी अझै आशावादी नै छन् ।
राष्ट्रिय कविता महोत्सवमा उनको कविता छनाेट मात्र भएन, पुरस्कृत नभएपनि कविताले उनलाई चिनायाे । उनलाई सम्झिने श्रोताहरू भए, पाठकहरू भए । आज पनि असीमले हरेक कार्यक्रममा सुनाउने कवितामध्ये एउटा कविता पसिनाको जुलुस हो । असीम आफैँलाई पनि यो सबैभन्दा मन परेको कविता हो ।
‘कविताले मलाई अहिले पनि त्यत्तिकै ऊर्जा दिइरहन्छ,’ उनी भन्छन्, ‘मैले जसका लागि कविता लेखेँ, कविताले उनीहरूको मन जित्न सफल भयो ।’ आफ्नो कविताले श्रोताको मन जित्नुभन्दा ठूलो एउटा कविका लागि केही नहुने बताउँछन्, असीम ।
पसिनाको जुलुस
धनमाया,
इस्कुस बेच्छिन्, इमान बेच्दिनन्
साग बेच्छिन्, स्वाभिमान बेच्दिनन्
आइसक्रिम बेच्छिन्, हिमाल बेच्दिनन्
देशको मानचित्र बेच्छिन्, देश बेच्दिनन्
मैले तिनै धनमायाबाट सिकेको हुँ
देशलाई माया गर्न ।
जसरी घामले जोगाएर राख्छ,
आफूभित्र न्यानो
फूलले बचाएर राख्छ,
आफूभित्र सुवास
त्यसरी नै जोगाएकी छन्,
उनले स्वाभिमान
त्यसरी नै बचाएकी छन्
उनले देश ।
जसरी घोटिँदा–घोटिँदा
शालिग्राम बन्छ पत्थर
हिडिँदाहिडिँदा बनिन्छ बाटो
त्यसरी नै बनेकी हुन्
उनी ‘धनमाया’ ।
उनी कति कोमल छिन्,
फूललाई दाँज्नू
उनी कति कठोर छिन्,
पत्थरलाई छाम्नू
र सम्झनू
निस्किएन भने पसिनाको जुलुस
धनमायाको निधारबाट
देशमा खडेरी पर्छ
तुफान आउँछ
र सोही तुफानले जम्मै सिमाना भत्काएर
देशभरि भोक थुपार्छ ।
तब भोको पेटले झन्डा समाएर
लरबरिएको खुट्टाले
कसको आँगन टेकेर भन्नुहुन्छ
‘यो देश मेरो हो ?’
आफैँ तर्सने
आफ्नै सुकुटे अनुहारले
ओझेल परेको घामको तस्बिर नियाल्दै
धनमाया पसिनाले देश लेख्छिन्
ढाकरमा देश बोक्छिन् ।
त्यसैले,
उनी हिँडेको उनको पैतालाको डोब पनि
हेर्नुस् त,
ठयाक्कै देश जस्तो छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।