युक्रेनमा रुसी आक्रमणको आज छैटौं दिन हो । अहिलेसम्म के भयो थाहा दिनुहोस् ?
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको आक्रमणपछि भीषण विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । जसमा २० जना घाइते भएका छन् । क्षेत्रीय सरकारको मुख्यालयमा रुसले मिसाइल प्रहार गरेको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दोस्रो चरणको वार्ताका लागि युक्रेन र रुसका प्रतिनिधिमण्डलले भोलि फेरि भेट गर्नेछन् ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो आक्रमणलाई एउटा देशको आतंककारी कार्य भनेका छन् । उनले यी आक्रमणहरूमार्फत रुसले युद्ध अपराध गरिरहेको बताए । रुसले आवासीय क्षेत्र र सर्वसाधारणमाथि आक्रमण गरिरहेको उनको भनाइ छ । मारिएका सर्वसाधारणमा १६ बालबालिका पनि थिए ।
युरोपेली संघ संसदको विशेष सत्रलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले आफ्नो देशलाई ईयूको सदस्यता दिन माग गरे । यसले युक्रेनलाई थप बलियो बनाउने उनको भनाइ छ ।
युक्रेनको उत्तरपूर्वी सहर ओख्ट्रियामा रुसले गरेको आक्रमणमा परी ७० युक्रेनी सैनिकको मृत्यु भएको बताइएको छ । यसैबीच, रुसी सशस्त्र गाडीहरूको ठूलो लस्कर युक्रेनको राजधानी किवतर्फ गइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।
रुसी विदेश मन्त्री सर्गेई लाभरोभले आफ्नो देशको आक्रमणलाई जायज ठहर गर्दै युक्रेनले अब आणविक हतियार प्राप्त गर्न बन्द गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले युक्रेनमाथि ‘बरबर र अन्धविश्वासपूर्ण’ आक्रमण गरिरहेको बताएका छन् । उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाउन आफू तयार रहेको बताए ।
रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किव निश्चित क्षेत्रहरूलाई लक्षित गर्दै आक्रमण गर्ने चेतावनी दिएको छ।
मंगलबार दिउँसो जारी गरिएको विज्ञप्तिमा रुसी अधिकारीहरूले आफ्ना सेनाहरूले युक्रेनी सुरक्षा सेवाको प्राविधिक केन्द्र र अन्य स्थानहरूमा आक्रमण गर्न लागेको बताएका छन् ।
विज्ञप्तिमा युक्रेनका नागरिकलाई आफ्नो घर छाड्न पनि भनिएको छ । अधिकारीहरूले यी आक्रमणहरूको उद्देश्य रुस विरुद्धको 'सूचना आक्रमण' रोक्नु रहेको दाबी गरेका छन् ।
एक सैन्य विज्ञले रुसको ७५ प्रतिशत सेना युक्रेनविरुद्धको लडाइँका लागि पठाएको दाबी गरेका छन् ।
रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका ल्याण्ड वारफेयर र मिलिटरी साइन्सेसका अनुसन्धानकर्ता ज्याक वाटलिङले यो जानकारी दिएका हुन् । एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले पनि यस्तै संख्यामा रुसले सेना पठाइएको उल्लेख गरेका छन् ।
रुसको आक्रमणपछि युक्रेनबाट हालसम्म ६ लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले यहाँबाट पलायन हुनेमा अधिकांश महिला र बालबालिका रहेको जनाएको छ ।
एजेन्सीका प्रवक्ता साबिया मान्टुले स्विट्जरल्याण्डमा एक ब्रीफिङका क्रममा पोल्याण्ड प्रवेश गर्न मानिसहरूले ६० घण्टासम्म पर्खिरहेको रिपोर्ट आएको बताइन् ।
संयुक्त राष्ट्र मानव अधिकार आयोगले युक्रेनमा फेब्रुअरी २४ देखि सोमबार मध्यरातसम्म ५३६ नागरिक मारिएको जनाएको छ । आयोगका प्रवक्ता लिज थ्रोसेलले १३ बालबालिकासहित १३६ सर्वसाधारण मारिएको बताए । उनले आयोगलाई युक्रेनमा २६ बालबालिकासहित ४ सय सर्वसाधारण घाइते भएको रिपोर्ट प्राप्त भएको बताए ।
युक्रेनी सैन्य अधिकारीले पहिलो पाँच दिनमा ५ हजार ७१० रुसी सैनिक मारिएको दाबी गरेका छन् । फेसबुकमा जारी गरिएको भिडियो सन्देशमा सेनाका प्रवक्ताले युक्रेनी सेनाले २०० भन्दा बढी रुसी सैनिकलाई बन्दी बनाएको पनि दाबी गरेका छन् । अधिकारीले १९८ रुसी ट्याङ्क, २९ विमान, ८४६ बख्तरबंद गाडी र २९ हेलिकप्टर पनि ध्वस्त भएको दाबी गरेका छन् ।
भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटमा लेखेका छन्– गहिरो दुःखका साथ खार्किभमा भएको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गर्दैछौँ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।