पार्टी विभाजन रोक्न नारायणकाजी फकाउँदै प्रचण्ड, आज पनि दुई नेताबीच छलफल

आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन भएपछि सत्ता साझेदार माओवादी केन्द्रभित्र असन्तुष्टि कायमै छ । एमसिसी अनुमोदनकै कारण माओवादी विभाजनको अवस्थामा पुगेको पनि चर्चा हुन थालेको छ । 

विगतमा संशोधनबिना एमसिसी पास हुन नहुने अडान राखेका प्रचण्ड अचानक लचिलो भएपछि माओवादी अन्य नेताहरू उनीप्रति असन्तुष्ट छन् । व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन पारित गर्ने निर्णय गरिएपछि त प्रचण्डप्रति असन्तुष्ट नेताहरू थप रुष्ट देखिए ।

एमसिसी अनुमोदनमा सहयोग गरेपछि माओवादीभित्रै देखिने गरी दुई समूह बनेका छन् । माओवादीमा अहिले खासगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच टक्कर परिरहेको छ । प्रचण्डले ‘पार्टीबाट अलग हुन्छु भनेर जिद्दी गर्नेलाई रोक्न नसकिने’ आशयको अभिव्यक्ति दिएपछि दुई नेताबीचको सम्बन्ध चिसिएको हो ।

पत्रकार सम्मेलनमै त्यस्तो अभिव्यक्ति दिए पनि फेरि प्रचण्डले नारायणकाजीलाई फकाउन भने थालेका छन् । पार्टी विभाजनको भयले प्रचण्डले उनीसँगको भेटवार्तालाई निरन्तरता दिएका हुन् । उनले आज पनि आफ्नै निवास खुमलटारमा बोलाएर नारायणकाजीसँग छलफल गरेका छन् । 

बिहान भएको प्रचण्ड र नारायणकाजीले पार्टी एकता कायम गर्ने विषयमा छलफल गरेका थिए । यद्यपि, छलफल भने निष्कर्षविहीन सकियो । छलफलमा प्रचण्डले पार्टीबाट अलग नभएर मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

श्रेष्ठले भने जवाफमा आफू माओवादी केन्द्रमै बस्ने चाहना भए पनि त्यस्तो वातावरण नबनिरहेको बताए । बुधबार पनि प्रचण्डले नारायणकाजीसँग भेटवार्ता गरेका थिए । 



प्रचण्डसँगको सम्बन्ध बिग्रिँदै गएपछि श्रेष्ठले आफूनिकट नेताहरूसँगको छलफललाई पनि तीव्रता दिएका छन् । साथै, उनले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसँग पनि भेटवार्ता गरिसकेका छन् । विप्लवसँग नारायणकाजीको भेट भएको खबर सुनेपछि प्रचण्डमा पार्टी विभाजन हुने भय थपिएको छ ।

पछिल्लो समय उनीप्रति श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, लेखनाथ न्यौपानेलगायत नेताहरू व्यापक असन्तुष्ट छन् । उनीहरूमा बढ्दै गएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर प्रचण्ड पनि निरन्तर छलफलमा छन् ।  



  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १०:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया