नेकपा माओवादीको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै छ । सो बैठकमा नेता नारायणकाजी श्रेष्ठ समूहले फरक दस्ताबेज राख्ने तयारी गरेको छ । पार्टीले अमेरिकी सहायता परियोजना एमसिसी अनुमोदन गरेपछि श्रेष्ठको समूहले असन्तुष्टि पोख्दै आएको छ ।
एमसिसी पास भएको दिनलाई नेता श्रेष्ठले कालो दिनको संज्ञा दिएका थिए । उनको समूहमा रहेका गिरिराजमणि पोखरेल, लीलामणि पोखरेललगायतले पनि एमसिसीको विरोध गर्दै आएका छन् ।
माओवादीले सुरुमा एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन जोगाउनका लागि व्याख्यात्मक घोषणा गरेर एमसिसी पारित गर्न सहमत भएसँगै पार्टीको पुरानो निर्णय फेरिएको थियो ।
एमसिसी पारित भइसकेपछि प्रचण्डले नारायणकाजीको गतिविधिप्रति टिप्पणी गर्दै ‘महाकाली सन्धिका बेला एमाले छाडेका वामदेवको उदाहरण दिँदै त्यस्तै बन्न खोजे आफूले रोक्न नसक्ने बताएका थिए । आफ्नो सार्वजनिक अभिव्यक्तिका कारण श्रेष्ठ झनै रुष्ट भएपछि दाहालले उनकै निवासमा गएर श्रेष्ठलाई सम्झाएका थिए ।
माओवादीबाट अलग्गिएर अहिले छुट्टै समूहको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्दले पनि श्रेष्ठलाई भेटेर सहकार्यको प्रस्ताव राखेका छन् । सो भेटले पनि प्रचण्डलाई झस्काएको छ ।
बुधबार र बिहीबार बसेको श्रेष्ठ पक्षको भेलाले शुक्रबारको बैठकमा फरक दस्तावेजसहित केन्द्रीय समिति बैठकमा सहभागी हुने निर्णय गरेको छ । दस्ताबेज लेखनका लागि केन्द्रीय समितिसँग समय माग गर्ने श्रेष्ठ समूहको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।