माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुने माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।  

माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादीको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।

अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सातजना उपाध्यक्ष, एकजना महासचिव, दुईजना उपमहासचिव, तीनजना सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था छ ।

साथै, आजको केन्द्रीय कमिटी बैठकमा एमसिसी अनुमोदन भएपछि असन्तुष्ट नेताहरूले दिएका अभिव्यक्तिमाथि पनि छलफल हुनेछ । गत आइतबार व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन भएपछि माओवादीमाथि केही नेताहरूले चर्को असन्तुष्टि जनाएका छन् । 

विशेष गरी नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरीराजमणि पोखरेल, लीलामणि पोखरेललगायत नेताहरू एमसिसी पारित गर्नमा माओवादीले सहमति जनाएपछि पार्टी अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट छन् ।

एमसिसीकै माओवादी विभाजन हुनसक्ने प्रचण्डमा भय कायमै छ । पार्टी विभाजन रोक्न प्रचण्डले नारायणकाजी र अन्य असन्तुष्ट नेताहरूसँगको छलफललाई पनि तीव्रता दिएका छन् । 





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार ७:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया