प्रचण्डसामु नरम देखिएनन् नारायणकाजी, केन्द्रीय कमिटीमा फरक मत पेस गर्ने

संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी बहुमतले अनुमोदन भएपछि अहिले सत्ता साझेदार नेकपा माओवादी केन्द्र समस्यामा छ । पार्टीभित्रका केही शीर्ष नेताहरूको चर्को असन्तुष्टिकाबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पारित गर्न सहमति जनाएपछि माओवादी समस्यामा परेको हो ।

एमसिसीकै कारण माओवादी विभाजन हुने चर्चा पनि सुरु हुन थालेको छ । पार्टी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच सहमति जुट्न नसक्दा माओवादी ‘विभाजनको तहसम्म’ पुगेको विश्लेषण हुन थालेको हो । प्रचण्डसँगको सम्बन्ध चिसिएपछि नारायणकाजीले आफूनिकट नेताहरूसँगको छलफललाई पनि तीव्रता दिएका छन् ।   

साथै, उनले एमसिसी परियोजना पारित भएकोप्रति असन्तुष्ट नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् । पार्टी विभाजन हुनसक्ने हल्ला सुनेपछि प्रचण्डले श्रेष्ठलाई निरन्तर फकाइरहेका पनि छन् । तर, श्रेष्ठ भने प्रचण्डसामु विगतभन्दा अलि कडारूपमा प्रस्तुत भइरहेका छन् ।

उनले आज बस्न लागेको पार्टी केन्द्रीय कमिटीको बैठकमा लिखित रूपमा फरक मत पनि राख्ने भएका छन् । ‘एमसिसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णयप्रति आपत्ति जनाउँदै आउनुभएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठनिकट केन्द्रीय सदस्य जीवन गौतमले भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यहीअनुसार आगामी रणनीति तय हुनेछ ।’ 

उनका अनुसार बैठकमा राखिएको फरक मतका बारेमा पार्टी केन्द्रीय कमिटीमा घनिभूत छलफल हुनुपर्ने माग श्रेष्ठले अध्यक्ष प्रचण्डसँग राखेका छन् । गत १३–१९ पुसमा सम्पन्न महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनबिना नै एमसिसी अनुमोदन गराउने निर्णय लिएको विषयमा श्रेष्ठसहित, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल, रेखा शर्मालगायत नेताहरू असन्तुष्ट छन् ।   

आजको केन्द्रीय कमिटी बैठकमा यसअघि तय भएका पदाधिकारी, स्थायी कमिटीदेखि केन्द्रीय सदस्यको मनोनयनसम्मका एजेन्डा भने एमसिसीबारे उठेका बहसका कारण प्रभावित हुने देखिएको छ । 



‘मोटामोटी रूपमा महाधिवेशनबाट बाँकी रहेका सांगठनिक कार्यविभाजन, स्थानीय तह निर्वाचनका एजेन्डा सुरुदेखि नै तय भएका हुन्,’ केन्द्रीय सदस्य देवप्रसाद गुरुङले भने, ‘साथै, अब पछिल्लो समयमा बहसमा आएको एमसिसीका बारेमा पनि पक्कै बहस हुने नै छ, त्यसबारेमा पार्टीभित्र देखा परेका फरकमतका बारेमा स्वभाविक रूपमा छलफल र बहस हुने देखिन्छ ।’ 

उनका अनुसार महाधिवेशन पछिको सांगठनिक कार्यविभाजन र स्थानीय तह निर्वाचनलाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बैठक टुंग्याउने निधो गरिएको थियो ।



सो विषयमा छलफल गर्नका लागि २ फागुन र ८ फागुनका लागि तय भएको बैठक स्थगित गरिएको थियो । एमसिसीका कारण सत्तारुढ गठबन्धन नै अप्ठ्यारोमा परेको बेला बोलाइएका दुवै बैठक स्थगित गरी २० फागुनका लागि केन्द्रीय समितिको बैठक तेस्रोपटक आह्वान गरिएको हो ।

आजको केन्द्रीय कमिटी बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार ९:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया