टुँडिखेल आसपासमा आइतबारदेखि ‘पिक एन्ड ड्रप’

काठमाडौं– सवारी जाम घटाउन काठमाडौं महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपासका क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ‘पिक एन्ड ड्रप’ अभियान सुरु गर्दै छ । 

यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको तथा इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न पिक एन्ड ड्रप अभियान सुरु गर्न लागेको कामपा प्रमुख विद्यासुन्दर शाक्यले बताए । 

टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर सवारी साधन चल्छन् । 

पहिलो चरणमा ११ वटा रुटमा पिक एन्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एउटा सवारी साधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । तोकिएको ‘स्टप’बाहेक अन्त यात्रु ओराले वा चढाउने गरेमा कारबाही हुने महानगरपालिकाले जनाएको छ । 

यस अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा यस्तो नियम लागू गर्ने सरकारको तयारी छ । 

टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । 



टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । 

टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारी साधनले नेपाल वायु सेवा निगमअगाडि र लैनचौरस्थित दुग्ध विकास संस्थानअगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । 



यस्तै, टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबीचौर जाने सवारी साधनले नेपाल वायुसेवा निगमअगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभागअगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारी साधनले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने सवारी साधनले रत्नपार्कअगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । 

पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारी साधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिरको स्टप तथा लामो दुरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारी साधनले एकतर्फ वायुसेवा निगमअगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्नेछ । यस्तै, दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्नेछ । 

वायुसेवा निगमअगाडि स्टप बनाई विभिन्न स्थानमा जाने सफा टेम्पोले निगमअगाडिको स्टप र अन्य सवारी साधनले प्रयोग गर्ने स्टप तथा बागबजारस्थित भक्तपुर बसपार्कबाट यात्रु लिई आउने सवारी साधनले सोही ठाउँ र माइतीघर र बबरमहलको बीचबाट यात्रु ओराल्न र चढाउन पानेछन् । 

  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १८:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया