रुस-युक्रेन युद्धको नवौँ दिन : आज दिनभर के-के भयो ?

रुस र युक्रेनबीचको युद्ध नवौं दिन पनि जारी छ । रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो । युक्रेनको आपत्कालीन सेवा निकायले आगो निभाएको थियो ।

सो आगो परमाणु केन्द्रको परिसर बाहिर रहेको भवनमा लागेको थियो । पछि रुसी फौजले उक्त केन्द्र कब्जामा लिए । रुसी सेनाले प्लान्टको प्रशासन र नियन्त्रण भवनहरू कब्जा गरेका छन् । 

युक्रेनको चेर्निहिभ सहरको आवासीय क्षेत्रमा भएको रुसी हवाई आक्रमणमा मृत्यु हुने मानिसको संख्या ४७ पुगेको स्थानीय निकायले जनाएका छन्।

आक्रमण जारी रहेका कारण उद्धार कार्य स्थगित गरिएको स्थानीय आपत्कालीन सेवाले जनाएको छ । सो सहरमा रुसी आक्रमणमा अहिलेसम्म १४८ जनाको मृत्यु भएको बताइएको छ । रुस र बेलारुसको सीमानजिकको सो सहरमा ३ लाख मानिसको बसोबास छ ।

शुक्रबार साँझ प्राप्त जानकारीअनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युक्रेनको राजधानी कीभमा रहेको बंकरबाट भागेर पोल्याण्ड पुगेका छन् । यो दाबी रुसी मिडियाले गरेका हुन् । 

यो खबर किन पनि महत्त्वपूर्ण छ भने दुई दिनअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक रूपमा जेलेन्स्कीलाई युक्रेनबाट उनले चाहेको बेला एयरलिफ्ट गरिने बताएका थिए । तर, युक्रेनले जारी गरेको विज्ञप्तिमा जेलेन्स्की राजधानी कीभमा रहेको बताइएको छ ।



रुसी लडाकु विमानहरूले शैक्षिक संस्थामा आक्रमण रोक्न गरेको अपिलको बाबजुद विद्यालयहरूमा आक्रमण रोकेका छैनन् । केही समयअघि रुसी लडाकु विमानले जाइटोमिरको एउटा माध्यमिक विद्यालयमा आक्रमण गरेको थियो । विद्यालयको भवन ध्वस्त भएको बताइएको छ । केही समयअघि यही विद्यालयको खेल मैदानमा मिसाइल खसेको थियो । 

रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालयले शुक्रबार जनाएको छ ।



नेटोका महासचिव जेम्स स्टोल्टनबर्गले रुसले आफ्नो आक्रमणमा क्लस्टर बम प्रयोग गरिरहेको प्रमाण रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले क्लस्टर बमको प्रयोग देखेका छौं र अन्तर्राष्ट्रिय कानुन विपरीत हुने अन्य प्रकारका हतियारको प्रयोगको रिपोर्ट पनि देखेका छौं ।'

युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरूलाई चेतावनी दिएका हुन् । 

यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रुसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्ष प्रसारण गरिरहेको थियो ।

अपडेटहरू

  • पुटिनले भने- युक्रेनले विदेशीहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । युक्रेनको 'नियो-नाजी' इकाइहरूले विदेशीहरूलाई युद्ध क्षेत्र छोड्न रोकिरहेका छन् ।
  • रुसी सेनाले खेरसनको टिभी टावर कब्जा गरेको छ ।  ओख्तिरकास पावर प्लान्ट रूसी हवाई आक्रमणबाट नष्ट भएको थियो ।
  • अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्याको माग गरेका छन् ।
  • गुगल र ट्रिप एडभाइजरले बेलारुस, रूस र युक्रेनका नक्सा, रेस्टुरेन्ट, होटलहरू समीक्षा गर्ने युद्ध समाचारहरू रोकेका छन् ।
  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गत हप्ता तीन पटक आफ्नो हत्या प्रयास भएको बताए ।
  • संयुक्त राष्ट्रसंघले भन्यो- १० लाख युक्रेनीले आफ्नो मातृभूमि छोडेर अन्य देशमा शरण लिन बाध्य भएका छन् ।
  • रुस–युक्रेन युद्धका बेला रुसी सैनिकविरुद्ध बोल्नेलाई १५ वर्षको जेल सजाय हुने कानुन प्रस्ताव गरेको छ । यो कानुन रुसको तल्लो सदन पारित गरेको छ ।
  • युक्रेनमा भएको आक्रमणमा २०९ सर्वसाधारणको मृत्यु भएको र १५ सयभन्दा बढी घाइते भएको राष्ट्रसंघले जनाएको छ ।

 


  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार २२:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया