गण्डकीका मुख्यमन्त्री नेपाली १८ सदस्यीय टोलीसहित तीन दिवसीय मधेस भ्रमणमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीनदिने भ्रमणका लागि आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आइपुगेका छन् ।

मधेस प्रदेश सरकारको निमन्त्रणामा १८ सदस्यीय प्रतिनिधि टोलिसहित मुख्यमन्त्री पोखरेल जनकपुरधाम आएका हुन् ।

आजदेखि साताको तीनसम्म चल्ने बुद्ध एअरको विमानमार्फत मुख्यमन्त्री पोखरेल पोखरादेखि जनकपुरधाम आएका छन् । 

मुख्यमन्त्री पोखरेलाई मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलगायतका टोलीले स्वागत गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले पर्यटकीय नगरी पोखरालाई जनकपुरधामसँग जोड्नका लागि भ्रमण अवलोकन र दिर्घकालिन योजना बनाइने बताए । उनले पोखरा र जनकपुरधामको सम्बन्ध सुमधुर रहेको समेत बताए ।

गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको बताउँदै उनले भने, ‘मधेस प्रदेशको पनि अन्य क्षेत्र होला तर धार्मिक पर्यटकिय क्षेत्रहरु रहेको छ । यसलाई हामी चाहन्छौँ यसलाई बढाएर अन्तर्राष्ट्रिय स्तरमा जोडन सकियो भने पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण हुन्छ ।’



मुख्यमन्त्री पोखरेलसहितको टोलिले आजै नेपाल रेल्वेको अवलोकनसमेत गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले आइतबार विहान जानकी मन्दिरको दर्शन, पूजाअर्चना गर्नेछन् भने आइतबार नै बर्दिबासमा उनको स्वागतमा कार्यक्रम आयोजना गरिएको प्रदेश सरकारले जनाएको छ । 



त्यसपछि मुख्यमन्त्री पोखरेलसहितको टोली भ्रमणका लागि सर्लाहीको भरत ताल र नुनथर, बाराको गढीमाई मन्दिर दर्शन गरेर पुनः जनकपुरधाम फर्किने योजना रहेको छ । 
त्यस्तै सोमबार विहान महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गर्नेछन् । मुख्यमन्त्री पोखरेल सोमबार विहान विमानबाट पोखरा फर्किने कार्यक्रम रहेको छ । 

मधेस प्रदेश र गण्डकी प्रदेशबिच अन्तरप्रदेशीय विमान सेवासमेत आजैबाट सुरु भएको छ । दूबै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । 

गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली १८ सदस्यीय टोली सहित मधेश प्रदेशको भ्रमणमा आएका छन् ।  

मुख्यमन्त्री नेपालीसहित अर्थमन्त्री रामजीप्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल लगायतका व्यक्तित्व समेत भ्रमण टोलीमा रहेका छन् ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १५:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया