'स्पाई युनिभर्स' बनाउँदै यशराज, शाहरुख-सलमान-ऋतिक सँगसँगै
फरकधार / २१ फागुन, २०७८

हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौं वा स्टारलाई एकसाथ ल्याउँदको फाइदा प्रस्ट्याइसकेको छ । 



बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम, सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याइसकेका छन् । 

शेठ्ठीले सिम्बामा सिंघम र सूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने ‘सूर्यवंशी’ मा सिंघम र सिम्बाको राम्रै भूमिका थियो । यसैलाई मध्यनजर गर्दै बलिउडको ठूलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाई क्यारेक्टरलाई लिएर ‘स्पाई युनिभर्स’ क्रिएट गर्ने भएको छ । 



टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरूख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।



‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरूख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई २५ जनवरी २०२३ मा हेर्न पाइने छ । 

निर्माण कम्पनीले भिडियोमार्फत फिल्मको रिलिज डेट घोषणा गरेको हो । फिल्मको सार्वजनिक झलकमा जोन र दीपिका देखिए पनि पठान अर्थात् शाहरूखको गेटअप रिभिल गरिएको छैन ।

फिल्ममा सलमान खान पनि देखिने छन् । उनी फिल्ममा टाइगर अर्थात् अविनाशसिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । 

पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरूख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् । ‘स्पाई युनिभर्स’मा यसअघि नै यशराज फिल्म्समार्फत स्पाई क्यारेक्टरमा दर्शकले रुचाइसकेका अनुहारहरू हुनेछन् । 

सलमानले ‘पठान’ मा केमियो गरिसकेका छन् भने ‘टाइगर’ को आउँदो सिरिजमा शाहरूखले पनि केमियो गरेका छन् । यद्यपि ‘स्पाई युनिभर्स’ का अर्का सदस्य ऋतिक रोशन (कबिर-वार) अझै भित्रिएको खबर छैन ।

दर्शकले ऋतिकले पनि ‘पठान’ मा केमियो गरेको हुनसक्ने अनुमान गरिरहेका छन् । यद्यपि आदित्य र सिद्धार्थले केही बोलेका छैनन् । 

तर, उनले ‘स्पाई युनिभर्स’ मा सलमान र शाहरूखसँगै ऋतिक पनि रहने प्रस्ट्याइसकेका छन् । टाइगर सिरिज र पठानमा तीनैलाई दर्शकले पर्दामा देख्न नपाए पनि ‘वार २’ मा भने पाउनेछन् ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार २०:३७:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया