यस वर्षको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८’मा गीतकार विश्व बल्लभलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ ।
विन्ध्यावासिनी फाउन्डेसन र विन्ध्यवासिनी म्युजिक कम्पनीले शनिबार राजधानीमा आयोजना गरेको ८औँ वार्षिक भेलाले गीतकार बल्लभलाई एक लाख रुपैयाँ राशिको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो ।
भेलाले ‘विन्ध्यावासिनी संगीत साधना सम्मान २०७८’ लोक तथा आधुनिक गायिका तारा थापालाई सम्मान प्रदान गर्ने भएको छ । यो सम्मानको पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, फाउन्डेसनका सल्लाहकार तथा गायक प्रेमध्वज प्रधानको नामबाट ‘प्रेमध्वज संगीत रत्न सम्मान’ स्थापना गर्दै यो सम्मान गायक अजर जंगमलाई प्रदान गर्ने घोषणा गरिएको छ । सम्मानको राशि २५ हजार रुपैयाँ छ ।
यसैगरी, २५ हजार रुपैयाँ राशिको ‘विन्ध्यावासिनी कला पत्रकारिता सम्मान २०७८’ बाट पत्रकार श्याम स्मृतलाई सम्मान गर्ने निर्णय गरेको छ ।
१२औँ संस्करणको अवार्ड आगामी चैत २६ गते राजधानीमा आयोजना हुँदै छ । आयोजक संस्थाका सुवास रेग्मीले स्रष्टाको सम्मानका लागि आफूहरुले पारदर्शी किसिमले काम गरिरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।