कवि भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’को विषयवस्तुमा आधारित भई सोही नामको फिल्म बनेको छ । दिन्स पाल्पालीको निर्देशनमा बनेको सो फिल्म टिमले आइतबार काठमाडौंमा प्रेसमिट गर्दै चैत ४ गतेबाट प्रदर्शनीमा आउने जानकारी दिएको छ ।
सो फिल्म दिव्य देव, रविन तामाङ, सुशीलराज पाण्डे, श्रृष्टि श्रेष्ठ, नवीन लम्साल, निकुन श्रेष्ठलगायत कलाकारको अभिनय रहेको प्रेसमिटमा जानकारी गराइयो ।
निदेशक पाल्पालीले फिल्मका पात्रहरू जीवन्त रहेको दाबी गरे । एउटा कविताबाट फिल्मको कथा लेख्न धेरै गाह्रो भएको उनले अनुभव सुनाए।
भूपिको दृष्टिकोणलाई सापटी लिएर फिल्म निर्माण गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले फिल्मलाई काव्यात्मक न्याय दिने प्रयास गरेका छौं । उक्त कविताबाट प्रभावित फिल्मलाई दर्शकले रुचाउने विश्वास लिएका छौं ।’
फिल्ममा श्रृष्टिले पुतली राख्ने कलाकार (बटरफ्लाई इन्स्टलेसन आर्टिस्ट)को भूमिका निभाएकी छिन् । फिल्मको पात्रका कारण आफ्नो जीवन बुझ्ने धारणामा परिवर्तन आएको उनले बताइन्।
फिल्मको मुख्य भूमिकामा रहेका दिव्य देवले यो फिल्म धेरै दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे। लाइट, एक्सन, नाचगान सबै रहेका कारण यो कुनै व्यवसायिक चलचित्रभन्दा कम नरहेको उनले जिकिर गरे।
गाउँबाट काठमाडौं आएको एउटा गाउँले ठिटोले सहरमा पाउने हण्डर–ठक्करलाई फिल्मको कथावस्तु बनाइएको छ । जसरी चुरोट बल्दै गएर ठुटो बन्छ, त्यसरी नै गाउँबाट सहर छिरेको ठिटो महत्वहीन बन्छ भन्ने कथा फिल्ममा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।