हेटौंडामा नेपाली भाषा,साहित्यको बहस गर्दै सकियो बृहत् साहित्य महोत्सव

बागमती प्रदेशको राजधानी हेटौंडामा भएको दुईदिने बृहत् साहित्य महोत्सवको समापन भएको छ । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले फागुन २० र २१ गते हेटौंडामा बृहत् साहित्य महोत्सव आयोजना गरेको हो । 

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आँचलले मकवानपुरमा पहिलोपटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत् साहित्यिक महोत्सवको आयोजना गरेको थियो । हेटौंडा उपमहानगर क्षेत्रका विभिन्न पर्यटकीयस्थलमा समेत आयोजना गरिएको महोत्सवमा साहित्यका विभिन्न पाटामा गहन बहस भएका थिए । 

महोत्सवको पहिलो दिन उद्घाटनसहित ‘साहित्यमा राजनीति’ विषयमाथि बहस भएको थियो । बहसमा साहित्यकार भूपाल राई र समीक्षक घनश्याम घिमिरे वक्ता रहेका थिए । उक्त बहसको सहजीकरण पत्रकार तथा साहित्यकार ठाकुर बेलबासेले गरेका थिए । बहसमा साहित्य राजनीतिबाट टाढा हुन नसक्ने वक्ताहरुले बताएका थिए । 

महोत्सवको पहिलो दिनमै  ‘भाषिक दृष्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । महोत्सवमा साहित्यकार ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमाथि साहित्यकार प्रणेता र राम अविकासले टिप्पणी गरेका थिए ।

सोही दिन गजल तथा मुक्तक वाचन कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा मकवानपुरसहित देशभरका ४० जना साहित्यकारले गजल तथा मुक्तक वाचन गरेका थिए । यस्तै, पहिलो दिनको साँझ सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम हेटौंडाको पिएम सेन्टर र सुस्केरा परिवारले आआफ्नो प्रस्तुति दिएका थिए ।

महोत्सवको दोस्रो दिन बिहान हेटौंडामा साइकल संरचनाको सम्भावना विषयमा अन्तरक्रिया भएको थियो । उक्त कार्यक्रम आँचल र हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको थियो । यस्तै, दोस्रो दिनको दोस्रो कार्यक्रम मकवानपुरको पर्यटकीयस्थल गुम्बा डाँडामा आयोजना गरिएको थियो । 



 ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा साहित्यकार तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका थिए । उक्त कार्यक्रममा मकवानपुरको साहित्यको विगत र वर्तमानका विषयमा छलफल भएको थियो । 

यसैगरी, दोस्रो दिनको तेस्रो तथा महोत्सवको अन्तिम बहस कार्यक्रम हेटौंडामा भएको थियो ।  ‘समकालीन कविताको मार्ग चित्र’ विषयमाथि भएको बहसमा साहित्यकार भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका थिए भने यसको सहजीकरण साहित्यकार नीमेष निखिलले गरेका थिए । 



बहसमा साहित्यको वर्तमान अवस्था र अबको साहित्य कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । बहसकर्ताहरुले जस्तो लेखे पनि साहित्य मान्दा समग्र साहित्य क्षेत्र नै कमजोर बन्दै गएको टिप्पणी गरेका थिए । यसैगरी, महोत्सवको अन्तिम कार्यक्रम कविता वाचनको रहेको थियो । उक्त कार्यक्रममा मकवानपुरकासहित ६० जना कविले कविता वाचन गरेका थिए । 

महोत्सवमा मकवानपुरबाट प्रकाशित पुस्तकहरुको प्रदर्शनी, चित्रकार तथा साहित्यकार ऋषि केबी र ऋतिक केबीले बनाएको चिकला प्रदर्शनी गरिएको थियो । यस्तै, महोत्सवमा मकवानपुरका महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामग्री पनि प्रदर्शनीमा राखिएको थियो । 

आँचलकी अध्यक्ष अनिता न्यौपानले सबैको सहयोगमा बृहत् साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको बताइन् । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका सामाजिक तथा साहित्यिक संघसंस्थाको सहयोगले महोत्सवलाई सहज रुपमा आयोजना गर्न मद्दत पुगेको उनले बताइन् । 

महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्नेको अध्यक्ष न्यौपानेले उल्लेख गरिन् । महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको उनले बताइन् ।

साहित्य र समाजसँग जोडिएका विषयवस्तुमाथि बहस, अन्तरक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको र त्यो उपलब्धि महोत्सवले दिएको अध्यक्ष न्यौपानेको दाबी छ । 

कार्यक्रमको उद्घाटन सत्र आँचलकी अध्यक्ष अनिता न्यौपानेको सभापतित्वमा तथा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी र हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाको प्रमुख आतिथ्य भएको थियो । कार्यक्रममा सर्जक सञ्जालका अध्यक्ष नीमेष निखिल, अग्रज साहित्यकार तुल्सी थापा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको आतिथ्य रहेको थियो । 

कार्यक्रममा मकवानपुरका साहित्यिक संघसंस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो । समापन कार्यक्रमको समापन आँचलकी अध्यक्ष न्यौपानेको सभाध्यक्षता तथा गायिका सुशील पाण्डे मानन्धरको प्रमुख आतिथ्यमा भएको थियो ।

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार २१:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया