सरकारले रोक लगाए पनि रोकिएन नेपाली महिला खाडी जाने क्रम

ललितपुर– सरकारले खाडी मुलुकमा जान रोक लगाए पनि महिला कामदार जान नछाडेको सरोकारवालाहरुले बताएका छन् । आइतबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीले यस्तो बताएका हुन् । 

वैदेशिक रोजगारीमा गएका महिलाको संस्था ‘पौरखी’ले राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाइ’ मा उनीहरुले कानुनी रुपमा जान नपाउँदा महिला कामदारले थप समस्या भोग्नुपरेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाए पनि व्यावहारिक रुपमा नरोकिएको बताए । उनले भने, ‘महिला कामदार भारत, श्रीलकालगायतका देश हुँदै खाडी मुलुक जान रोकिएका छैनन् ।’ 

पौरखी संस्थाका अध्यक्ष मञ्जु गुरुङले नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धिका आधारमा पनि महिला कामदारलाई कुनै पनि देशमा जान रोक लगाउन नहुने बताइन् । खाडी मुलुकमा गएका महिलाले कठिन पारिश्रम गर्नुपर्दा उनीहरुको स्वास्थ्यमा समस्या आएको उनले बताइन् ।

‘महिला कामदारमा पाठेघर खस्ने र मिर्गौलाको समस्या बढी देखिएको छ,’ उनले भनिन् ।

घरेलु श्रमिकको अन्तर्राष्ट्रिय संस्थाका एसिया प्रशान्त सदस्य ज्ञानु केसीले देशभित्रै र वैदेशिक रोजगारीमा गएका महिलाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार २१:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया