संघीयता सुदृढीकरणमा संघ सरकार अनुदार बन्यो : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकार प्रदेशप्रति अनुदार हुँदा संघीयता मजबुत हुन नसकेको बताएका छन् । 

गण्डकी प्रदेश सभाको नवौं अधिवेशनको पहिलो दिन बिहीबार सदनमा संवोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, 'मुलुकको राजनीतिलाई स्थिर राख्दै संघीयतालाई अझ मजबुत बनाउनु अहिलेको आवश्यकता हो । चाहे यसअघिको दुई तिहाइ नजिकको सरकार होस, या अहिले नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन सरकार संघीयता सुदृढीकरण अर्थात् प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्नेमा उदार हुन सकेको छैन ।’  

संघीयता चिनिने र महसुस गर्ने नै प्रदेशमार्फत् हो भन्दै उनले तर प्रदेश सरकार अस्तित्वमा आएको ४ वर्ष बितिसक्दा समेत संघले कतिपय कानुन नबनाइदिएका कारण प्रदेशका काम अगाडि बढ्न नपाएको उनको भनाइ थियो । संघमा निजामती ऐन नआउँदा कर्मचारीहरुको वृत्ति विकास नै रोकिएको उनले बताए । 

उनले भने, ‘प्रहरी ऐन त ल्यायौं, तर प्रयोगमा ल्याउन सकिएको छैन, यो हाम्रा कारणले होइन, संघकै कारणले हो । छिटोभन्दा छिटो प्रहरी समायोजन गरेर प्रहरीलाई प्रदेश मातहत पूर्णरुपमा सञ्चालन हुँदा मात्र प्रदेश सरकारको प्रत्यक्ष अनुभूति हुने थियो ।’  

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरु संघीयता मजबुत बनाउन एकजुट हुन जरुरी रहेको उनले बताए । राजनीतिक घटनाक्रमले नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन सरकार सञ्चालन गर्ने जिम्मेवारी आएसँगै जिम्मेबार र सजग भएर प्रदेश सरकारलाई अगाडि बढाउने काम गर्दै आएको उनको भनाइ थियो ।

उनले भने, ‘उहाँहरुको ध्यानाकर्षणले हामीलाई थप जिम्मेवारी बनाएको छ । साथै उहाँहरुले समावेश गर्नुभएका विषयवस्तुलाई सामर्थ्य अनुसार सम्बोधन पनि गर्दै आएका छौं ।’



लोकतन्त्रमा विपक्षीले सत्ता पक्षलाई सजग बनाउनु धर्म रहेको भन्दै मुख्यमन्त्री पोखरेलले विपक्षीका असल सुझावहरुलाई कार्यान्वयन गर्नु सरकारको दायित्व हो भन्ने कुरालाई प्रदेश सरकारले आत्मसात गरेको उल्लेख गरे ।



  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १९:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया