गुल्मी मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान

गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । 

खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, जनता आवास र भूकम्पपछिको पुनर्निर्माण गरेर एक हजार ५४ परिवारले सुरक्षित आवास पाएका हुन् ।

पालिकाभित्रका सबै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधिले २० असार २०७४ मा पद बहाली हुँदा गरेको पहिलो निर्णय हो । सो अभियानले सार्थकता पाएको छ ।  

दुई करोड ८४ लाख ३७ हजार ४२० रुपैयाँको लागतमा सात वडाका कुल ७२९ घर खरका छानामुक्त भएका छन् । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले गाउँपालिकालाई खरका छानामुक्त घोषणा गरेका हुन् । 

गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्दै विष्टले पानी र आगोबाट मुक्ति पाएका नागरिकको ओठको मुस्कान र आशीर्वाद नै आफूहरूको सन्तुष्टिको विषय भएकाले आधारभूत आवश्यकता परिपूर्ति गर्न तीनवटै सरकारले ध्यान दिएको बताए ।

मदाने गाउँपालिका-१ मा १४१ जनाले जस्तापाता प्राप्त गरेका छन् । वडा नम्बर २ मा १८० घर, वडा नम्बर ३ मा १४५ घर, वडा नम्बर ४ मा ३२ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । 



त्यस्तै, गाउँपालिकाको वडा नम्बर ५ मा १०७ घर, वडा नम्बर ६ मा ५२ घर र वडा नम्बर ७ मा ७० जना गरेर कुल ७२९ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काका अनुसार विपन्न परिवारहरूको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने क्रममा गाउँपालिकाभित्र ७२९ घरमा खरका छाना विस्थापन गरिएको छ । 



भूकम्प र पहिरोका कारण विस्थापित ४७ घर परिवारको लागि एकीकृत वस्ती निर्माण गरिएको छ । त्यस्तै, भूकम्पपश्चात पुनर्निर्माण भएका निजी आवासको घरधुरी संख्या १४१ रहेको खड्काले बताइन् । 

सुरक्षित नागरिक आवासअन्तर्गत् निर्माण गरिएका घरधुरी १२८, जनता आवास कार्यक्रमअन्तर्गत सात घर निर्माण गरिएको छ ।

  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ११:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया