बागमती प्रदेशसभा बैठक आइतबार बस्ने, दुईवटा विधेयक पास गर्ने कार्यसूची

बागमती प्रदेशसभाको बैठक आइतबार बस्ने भएको छ । पटकपटक स्थगित हुँदै आएको बैठक आइतबारका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण ८ पुसमा स्थगित प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बनेको गठबन्धन सरकारले आठवटा मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । 

लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक ४ फागुनमा सर्वदलीय बैठकमा सहमति जुटेपछि १६ फागुनमा बोलाइएको थियो । तर, प्रदेशसभा सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गर्नु परेको सूचना जारी गरेको थियो ।

पटकपटक स्थगित हुँदै आएको प्रदेशसभा बैठक आइतबार पनि सुचारु हुने निश्चित छैन । तर, सभामुख सानुकमार श्रेष्ठ भने बैठक सुचारु हुने दाबी गर्छन् । ‘फागुन ४ गते बसेको सर्वदलीय बैठककै निर्णयअनुसार २९ गते बैठक सञ्चालन हुनेछ । १६ गते बस्ने भनिएको बैठक विशेष कारणले रोकिएको हो । सो बैठक प्रतिपक्ष दलको अवरोधका कारण रोकिएको होइन,’ सभामुख श्रेष्ठले भने ।

उनका अनुसार आइतबार डाकिएको बैठकमा २ वटा विधेयक पास हुने छन् । साथै, बैठकमा ३ वटा विधेयक प्रदेशसभामा दर्ता हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

हालसम्म प्रदेश सरकारले विभिन्न ऐन, नियम, निर्देशिका तथा मापदण्डलाई २६ पटकभन्दा बढी संशोधन गरिसकेको छ । प्रदेश सरकारले गठन भएलगत्तै ९९ वटा कानुन पहिचान गर्दै २ वर्षभित्र निर्माण गरिसक्ने दाबी गरेको थियो । तर, ४ वर्ष बित्दासमेत अझै पनि ३३ ऐन निर्माण हुन बा“की छन् ।  





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १३:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया