राजेश हमाल भन्छन्- म गोपाल योञ्जनकाे चेला हुँ

कलाकार राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ। हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रूपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ ।

भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल केही नोस्टाल्जिक बने । उनी आफ्नो गायन यात्रालाई स्कुल परिवेशसँग जोडे ।

उनले आफू वरिष्ठ संगीतकार तथा गायक गोपाल योञ्जनको चेला भएको स्मरण गरे । 

‘विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योञ्जन हुनुहुन्थ्यो । कक्षा ६ पढ्ने बेलासम्म उहाँले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । तर, कक्षा १० पुग्ने बेलासम्ममा स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोसिस नै गरिनँ । अहिले आएर फेरि गीत गाउने प्रयास गरेको हुँ’, उनले भने ।

गीतकार गोविन्द भट्टको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा देखिएका छन् । 

हमालका अनुसार यो गीतका लागि उनले करिब तीन महिनासम्म तयारी गर्नुपरेको थियो । 



‘नेपाल र नेपालीको कथा झल्किने गीतमा गाउने र अभिनय गर्ने चाहना थियो । मैले जीवनमा हलो जोतेको अनुभव लिएको छैन । मैले जति पनि फिल्ममा अभिनय गरेको छु, ती सबैमा म कलाकार बनेर आम नेपालीहरूले अपनाउने जीवन शैलीलाई नै उतारेको छ’, उनले भने ।

देवेन्द्र पाण्डे निर्देशित भिडियोमा रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेको कथालाई देखाइएको छ । 



भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोका सम्पादक विकास दाहाल हुन् ।

 

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १०:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया