युक्रेनले आफ्नो राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एनाटोली टिमोस्चुकलाई फुटबलका गतिविधिमा संलग्न हुनबाट आजीवन प्रतिबन्ध लगाएको छ ।
रुसी क्लब जेनिथ सेन्ट पिटर्सबर्गमा सहायक प्रशिक्षकका रूपमा काम गरिरहेका कारण उनलाई प्रतिबन्ध लगाइएको हो ।
युक्रेन फुटबल संघ (युएएफ)ले उनको कोचिङ लाइसेन्सका साथै उनले पाएको मान्यता, जितेको पदक र अन्तर्राष्ट्रिय खेलको १४४ क्याप पनि खोसेको छ ।
बुधबार युएफएले एक विज्ञप्ति जारी गर्दै टिमोस्चकले युक्रेनको आचारसंहिता मिचेको र नैतिकताको विपरीत गएर युक्रेनीयन फुटबलको छवि बिगारेको समेत आरोप लगाएको थियो ।
४२ वर्षका टिमोस्चकले सन् २०१३ मा बार्यन म्युनिखबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
जर्मनीमा ४ वर्ष विताएको उनले २०१६ देखि रसियन प्रिमियर लिग क्लब जेनिथमा प्रशिक्षण गराइरहेका छन् ।
‘रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेदेखि युक्रेनी राष्ट्रिय टोलीका पूर्व कप्तान टिमोस्चुकले यो विषयमा कुनै सार्वजनिक बयान दिएका छैनन् । न त रुसको क्लबमा काम गर्न रोकेका छन् । उनले युक्रेनी फुटबलको छवि बिगारेका छन्’, युएफएले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
सन् २००० देखि २०१६ सम्म युक्रेनको राष्ट्रिय टोलीबाट खेलेका टिमोस्चकले युक्रेनियन प्रिमियर लिग, युक्रेनियन कप र युक्रेनियन सुपर कपको उपाधि जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।