भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरिएको छ ।
भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिबार हेटौंडामा प्रतिष्ठानले एक सांगीतिक समारोहका बीच उक्त पुरस्कार प्रदान गरेको हो । २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जंगम विगत ५६ वर्षदेखि संगीत क्षेत्रमा आवद्ध रहँदै हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सयभन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।
हेटौंडा व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एलबी क्षेत्रीको प्रमुख अतिथ्यतामा वरिष्ठ संगीतकार जंगमलाई एक लाख नगदसहित दोसल्ला ओडाएर पुरस्कृत गरिएको थियो ।
यस्तै, भीमविराग युवा संगीत पुरस्कार २०७८ बाट लोकप्रिय गायक शिव परियारलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ । कार्यक्रममा विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट २०६४ सालमा अम्बर गुरुङलाई पहिलो पटक पुरस्कृत गरिएको थियो । त्यसयता प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छे बहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मोलाई संगीत पुरस्कार प्रदान गरिएको थियो भने यो वर्षको जंगमलाई प्रदान गरिएको हो ।
को हुन् दीपक जंगम ?
बुवा गोविन्दहरि जंगम र आमा जमुनादेवी जंगमका कोखबाट बिसंं. २०१० सालमा भक्तपुरको टौमढीमा उनको जन्म भएको थियो । दीपक जंगम नेपालका एक वरिष्ठ संगीतकार तथा गीतकार हुन् ।
उनले किन किन तिम्रो तस्विर, गाजलु ति ठूला ठूला आँखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बने लगायतका चर्चित गीतहरूको संगीत भरेका छन् । उनी एक कुशल गायक पनि हुन् ।
बाल्यकालदेखि नै नाट्या र संगीतमा रूचि रहेका जंगमको बिसं. २०१९ मा ब्युउझाइदेउ नयन बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए । उनको आफ्नै रचना, संगीत र स्वर रहेको उक्त गीत नै पहिलो रेकर्ड भएको गीत हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।