प्रकाश सपुतको 'पीर' विवादमा : माफी माग्दै युट्युबबाट हटाउन चेतावनी

गायक प्रकाश सपुत सार्वजनिक गरेको नयाँ गीतको भिडियोलाई लिएर विवाद सुरु भएको छ । गायक सपुतले आफ्नो अफिसियल युट्युब च्यानलमा ‘पीर’ बोलको गीत सार्वजनिक गरेका थिए ।

गायक सपुतले माओवादी जनयुद्ध पीडितको कथालाई लिएर गीतको कथा बुनेका छन् । गीतको प्रशंसा र विरोध दुवै भइरहेको छ । गीतका केही दृष्यलाई लिएर माओवादी केन्द्रका नेताहरूले विरोध जनाएका छन् भने केही व्यक्तिले माओवादी केन्द्रको नेतृत्वमा गीतले प्रस्तुत गरेको कठोर यथार्थ आत्मसात गर्ने विवेक नभएको तर्क गरेका छन् । 

गीत सार्वजनिक भएपछि वाईसियल इञ्चार्ज नेता रामप्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु दण्डनीय भएको टिप्पणी गरेका छन् । 

गीतका केही दृष्यलाई लिएर उनको प्रतिक्रिया छ, ‘पीर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊँ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले 'देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।’

यस्तै, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतका दृष्यलाई लिएर आपत्ति जनाएकी छन् । उनले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको विषय स्वीकार गरेकी छन् । 



तर, जनयुद्धमा सहभागी महिला शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आपत्तिजनक उनको भनाइ छ । उनले भिडियाे सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए गायक प्रकाश सपुतको गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनीसमेत दिएकी छन् ।

'जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भाेगेकाे जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयाे । तिनै दिदी-बहिनीमाथि अपमान हुनेगरि बनाइएकाे तपाईंको पीर नामक भिडियाे सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु,' उनले लेखेकी छन् ।



यसैगरी, वाईसीयल अध्यक्ष सुमन देवकाेटाले पनि गीतमा राखिएका दृष्यलाई लिएर आपत्ति जनाएका छन् । उनले गणतन्त्रको सेनानीको अपमान हुने शब्द/दृश्य तुरुन्त हटाउन प्रकाश सपुतसँग अनुरोध गरेका छन् ।

'देशको राजनैतिक रुपान्तरणको लागि लडेका महिला छापामार(गणतन्त्रको सेनानी) लाई चरित्रहीन नारीको रुपमा चित्रण गरिएको कथित म्युजिक भिडियो सह्य छैन । गणतन्त्रको सेनानीको अपमान हुने शब्द/दृश्य तुरुन्त हटाउन म प्रकाश सपुतसँग अनुरोध गर्दछु' उनले लेखेका छन् ।​

त्यस्तै, धेरै व्यक्तिहरूले गीतको समर्थन गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । लेखक सरिता तिवारीले गीतले प्रस्तुत गरेको कठोर यथार्थ आत्मसात गर्ने विवेक माओवादी नेतृत्वमा नभएको आफूलाई लागेको उल्लेख गरेकी छन् ।

'आम कार्यकर्ता पंक्तिले गम्भीर भएर सोचोस् कि अझै पनि यही नेतृत्व र यिनै मानिसहरूलाई नाइके मानेर हिंड्ने कि नेतृत्वको कमान सम्हाल्न अघि सर्ने ? हिजो लडेको आन्दोलनको मूल्य रक्षा गर्नकै लागी अब नेतृत्व लिन आँट गर्ने कि फलाना-फलाना त एक्काइसौं शताब्दीका महान नेता हुन् भन्दै यही नेतृत्वको स्तुति गान गरेर पुच्छर लाग्ने ?' उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार २१:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया