युक्रेनमा मानवीय अवस्था तीव्र रूपमा बिग्रँदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो ।
‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रँदै गएको छ । र, केही शहरमा डरलाग्दो अवस्था देखिएको छ’, रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने ।
युक्रेन राष्ट्रवादी आवासीय क्षेत्रमा विस्फोटक पदार्थहरू बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरू भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत्, पानी, खाद्यान्न र औषधिबाट बञ्चित भएको उनले बताए ।
दक्षिणपूर्वी बन्दरगाह शहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रवादीहरूले घेरा हालेको शहरमा लाखौं मानिस फसेको उनले बताए ।
‘विदेशीसहित लाखौं मानिसहरूलाई राष्ट्रवादीहरूले नियन्त्रणमा लिएका छन्’, उनले भने । युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।