तीन महिनापछि बस्दै बागमती प्रदेशसभा बैठक, हट्ला एमालेको अवरोध ?
फरकधार / २९ फागुन, २०७८

पटकपटक स्थगित हुँदै आएको बागमती प्रदेशसभा बैठक ८१ दिनपछि आज बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण ८ पुसमा स्थगित प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।  



लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक ४ फागुनमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि १६ फागुनमा बोलाइएको थियो । तर प्रदेशसभा सचिवालयले विशेष कारणले बैठक स्थगित गर्नु परेको सूचना जारी गर्दै स्थगित गरेको थियो ।

आइतबार बस्ने बैठकमा भने प्रतिपक्ष दल नेकपा एमालेले अवरोध नगर्ने पक्षमा रहेको र बैठक सञ्चालन हुने सभामुख सानुकुमार श्रेष्ठले बताए । ‘फागुन ४ गते बसेको सर्वदलीय बैठककै निर्णयअनुसार आजको बैठक सञ्चालन हुनेछ । बैठक अवरोध नगर्ने र सहमतिमा जाने सल्लाह भइसकेको छ,’ सभामुख श्रेष्ठले भने ।



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पनि आफूहरूको मागको बारेमा सर्वदलीय बैठकमै छलफल भसकेकाले बैठकमा अवरोध गर्ने अवस्था नरहेको बताइन् । ‘अवरोध गर्ने, बैठकमा नै सहभागी नहुने भन्ने हाम्रो पार्टीको योजना त छैन । तर, हाम्रा मागहरूलाई संशोधन गराउन भने दबाब दिने छौं,’ उनले भनिन् ।



राजेन्द्र पाण्डे नेतृृत्वमा बनेको बागमती प्रदेश गठबन्धन सरकारले आठवटा मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । साथै, एमालेले आफ्नो सरकारले ल्याएको योजनाहरू कटौतीप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ ।

  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ८:४३:३६,   अन्तिम अपडेट : फागुन २९, २०७८ आइतबार ११:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया