प्रकाश सपुतकाे गीत बारेमा नेताहरू के-के भन्छन् ?

लाेकगायक प्रकाश सपुतले शुक्रबार युट्युबमा ‘पिर’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरे । सार्वजनिक गरिएकाे २४ घन्टा पनि नबित्दै उनीमाथि सत्तारूढ माओवादी केन्द्रका नेताहरू खनिए ।

भिडियाे १६ मिनेट २५ सेकेन्ड लामाे छ । भिडियाेमा दशवर्षे जनयुद्धले युद्ध लडेका लडाकुहरूकाे सपना पूरा नभएकाे र जीवन अस्तव्यस्त भएकाे देखाइएकाे छ। आखिर युद्धले हामीलाई के दियाे भन्ने विषयवस्तुमा भिडियाे केन्द्रित छ।

भिडियाेमा पूर्वलडाकु याैन व्यवसायमा लागेकाे देखाइएकाे छ । यसैलाई लिएर माओवादी केन्द्रका नेताहरूमा असन्तुष्टि बढेकाे हाे । यस विषयमा माओवादीका नेतामा मात्र नभई अन्य सर्वसाधारणमा पनि आपत्ति रहेकाे देख्न सकिन्छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सपुतले यथार्थ कुरा बाहिर ल्याएको बताएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै जनयुद्धकै एक शीर्ष नेता भट्टराईले प्रकाशको गीतमा समर्थन जनाएका हुन् ।

उनले सत्य स्वीकार्दै समाधान खोज्न पनि माओवादी केन्द्र नेताहरूलाई आग्रह गरेका छन् । 



उनले भनेका छन्, ‘तथ्यबाट सत्य खोज मार्क्सेली चिन्तन पद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु- महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचार निम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौँ, समाधान खोजौँ ।’

नेकपा माओवादी केन्द्रकाे भातृ संगठन वाइसिएलका इन्चार्ज तथा केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा दिपशिखाले सपुतकाे भिडियाेमा आपत्ति जनाएका छन् । 



उनले भिडियाेमा एउटा महिला अभाव र गरिब हुँदा ‘देह व्यापार’  गर्छन् भनेर कसरी स्वीकार्ने भनी प्रश्न गरेका हुन् । 

उनले ट्विटरमा लेखेका छन्, ‘मलाई अरू कुरामा राजनीति गर्नु छैन । सपुतका सबै कुरा सही नै लौ ! तर एउटा महिला अभाव र गरिब हॅुदा ‘देह’ व्यापार गर्छन् भनेर कसरी स्वीकार्ने ?’

उनकाे उक्त कुरामा धेरैले आपत्ति जनाएका छन् । उनले आफ्ना कुराकाे विराेध गर्नहरूलाई बा अर्थात् एमाले अध्यक्ष केपी शर्मा ओलीकाे झड्केलाकाे संज्ञा दिएका छन् । 

उनले लेखेका छन्, ‘बा’का झड्केलाहरू विभिन्न नाम र आवरणमा भिड्न नआए हुने के !’ 

उनले भिडियाेमा समर्थन गर्नेहरूलाई परिवर्तन विरोधी पनि भनेका छन् ।

उनले भनेका छन्, ‘परिवर्तन विरोधीहरूलाई सपुतको गीत अब बजाउने भाँडो बनेको छ !’ 

अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भिडियाे तत्काल हटाई सार्वजनिक रूपमा माफी नमागे यस्ताे हर्कत सहेर नबस्ने चेतावनी दिएकी छन्। 

उनले फेसबुकमा लेखेकी छिन्, ‘जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेकाे राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएकाे कुरा प्रकाश जि तपाईंलाई बुझाइरहन पर्ने हाे । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भाेगेकाे जातिय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयाे । तिनै दिदीबहिनीहरूमाथि अपमान हुनेगरी बनाइएकाे तपाईंको पिर नामक भिडियाे सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

गीतले सत्ताधारीलाई हल्लाएकाे पहिलाे पटक भने हाेइन । यसभन्दा अगाडि गायक पशुपति शर्माकाे ‘लुट्न सके लुट कान्छा’काे पनि निकै विराेध भएकाे थियाे । त्यति बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

विराेध बढ्दै गएपछि शर्माले उक्त गीत हटाएर परिमार्जनसहित पुन: राखेका थिए।
 

  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १२:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया