आइसिसी महिला विश्वकप : पाकिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित
फरकधार / ३० फागुन, २०७८

आइसिसी महिला एक दिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा बंगलादेश विजयी भएको छ । पहिलो जित निकाल्ने क्रममा बंगलादेशले पाकिस्तानमाथि ७ रनको रोमाञ्चक जित हात पारेको हो ।
 
२३५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै २२५ रन मात्र बनाउन सक्योे ।



पाकिस्तानका लागि सिद्रा अमिनले शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकिनन् । १४० बलको सामना गर्दै १०४ रन बनाएकी उनले ८ चौका प्रहार गरिन् ।

नाहिदा खानले ४३, कप्तान बिस्माह मारुफ ३१ र डायना बेग १२ र ओमाइमा सोहेल १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



बंगलादेशका लागि फाहिमा खातुनले ३, रुमाना अहमदले २ तथा सलमा खातुन र जहाँरा आलमले १-१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



यसअघि ह्यामिल्टनस्थित सेडन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

बंगलादेशका लागि फरगाना हकले सर्वाधिक ७१ रनको योगदान दिइन् । ११५ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन् । कप्तान निगार सुल्तानले ४६ र शर्मिन अख्तरले ४४ रन जोडे ।

पाकिस्तानका लागि नशरा सन्धुले ३ तथा फातिमा साना, निदा डार र ओमाइमा सोहेलले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै ३ खेलमा २ अंक जोडेको बंगलादेश छैटौं स्थानमा रहँदा चारै खेलमा पराजय बेहोर्दै पाकिस्तानबिना अंक पुछरमा छ । 

  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ११:४२:९,   अन्तिम अपडेट : फागुन ३०, २०७८ साेमबार ११:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया