बिपी बारेमा बनाइएकाे डकुमेन्ट्री फिल्म ‘राजद्राेही राजनेता’ बारेमा के भन्छन् झलनाथ र शशांक ?

राजनेता बिपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ ।

डकुमेण्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि लागेका ८ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । 

स्वदेश फर्किएपछि कसरी बिपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेण्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेण्ट्रीमा उतारिएको छ । 

डकुमेण्ट्री हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनालले दक्षिण एसियामा भारत सोभियत गठबन्धनले साना मुलुकहरूमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका काण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा बिपीले चालेका कदमको प्रशंसा गरे ।

उनले बिपीको उक्त कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको साहसिक कदमका रूपमा चित्रण गरे । 

उनले भने, ‘यो त्यस्तो कालखण्डको एउटा डकुमेण्ट्री बनेछ, जुन बेलामा दक्षिण एसियामा भारत सोभियत गठबन्धनले यो देशका साना मुलुकहरूमाथि ठूलो खतरा पैदा गरेको थियो । खतरामात्रै होइन, त्यसपछि हाम्रो मानचित्र नै बद्लियो । त्यो खतरा उपस्थित भइरहेको बेलामा नेपालको राष्ट्रियतामाथि पनि जुन ढंगले खतराहरू बढ्दै थिए, त्यस्तो बेलामा नेपालका राजनीतिक शक्तिहरू, यसमाथि पनि लोकतान्त्रिक शक्तिहरूको एकताको आवाज उठ्न थालेको थियो । यो आवश्यक्तालाई बोध गरेर, बिपीले त्यो बेला जुन प्रकारको कदम चाल्नुभयो, त्यो वास्तवमा नेपालको लोकतान्त्रिक आन्दोलनको निम्ति शाहसिक कदम हो । त्यही सेरोफेरोमा यो डकुमेण्ट्री बनेको रहेछ, यो नेपालको इतिहासमा बिर्सन नहुने जुन अध्याय हो, त्यो अध्यायलाई डकुमेण्ट्री गरेकोमा मलाई खुसी पनि लागेको छ । 



नेता खनालले त्यो बेलामा वामपन्थी कम्युनिस्टहरूले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेण्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा राखे।

‘बिपीले बामपन्थीहरूसँग संयुक्त भएर जान विभिन्न कारणले सहमत हुनुभएन । मलाई लाग्छ त्यो उहाँको कमजोरी हो । त्यो कमजोरीलाई हामीले इंगित गर्नुपर्छ । तर, बामपन्थीहरू संयुक्त आन्दोलनको पक्षमा त्यतिबेला पनि थिए । यो डकुमेण्ट्रीमा उहाँहरूले गरेको चरित्र पनि प्रतिविम्वित भएको भए सुनमा सुगन्ध हुन्थ्यो’, उनले भने ।



त्यस्तै, नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेण्ट्री अति उपयोगि भएको बताए । 

उनले यो डकुमेण्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरूले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने कुरा बताउन सक्ने जिकिर गरे । 

यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री भएको नेता काेइरालाकाे भनाइ छ ।

उनले भने, ‘यो इतिहासको त्यो कालखण्ड हो, जुन मान्छेहरूले बिर्सिन सक्छन् । याे एउटा डकुमेण्ट्रीको हिसाबले जुन प्रस्तुत भएको छ, यो अत्यन्त राम्रो छ । इतिहासलाई व्यक्तिहरूमा पेस गर्नुपर्ने अवस्था सिर्जना हुन्छन् । नत्र यो इतिहास हराएर जान्छ । नेपालको राजनीतिमा, वर्तमान परिस्थितिमा हामीले बितेका दिनहरूलाई हेरेर भविष्यमा हामी यो पनि भन्न सक्छौँ कि हाम्रो दिशा ठिक हो कि होइन भनेर । मेरो लागि त्यो अत्यन्त राम्रो हो । यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री हो ।’

यसैगरी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस डकुमेण्ट्रीमा बिपी कोइरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरूलाई समेटिएको र यसले इतिहासको संरक्षण भएको बताए ।

यस डकुमेण्ट्रीमा नेपालको राजनीति कसरी व्यतित भयो भन्ने कुरा जीवन्त उतारिएको उनकाे भनाइ छ ।

अध्यक्ष पोखरेलले भने, ‘बिपी कोइरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरूलाई समेटिएको छ । इतिहासको संरक्षण भएको छ भने यसको कलात्मक पस्किएको छ । जसले जीवन्त ढंगले नेपाली राजनीति कसरी व्यतित भयो भन्ने कुरालाई प्रदर्शन गरेको छ । यो नयाँ पुस्ताका लागि नेपालको आधुनिक राजनीतिमा बिपी कोईराला, गणेशमानजस्ता नेताहरूले गरेको याेगदान बुझ्नका लागि अत्यन्त महत्वपूर्ण डकुमेण्टका रूपमा रहेको छ ।’

राजनीतिक विश्लेषक डा. राम थपलियाले बिपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अंगालेको बताए । 

उनले बिपीको राष्ट्रिय मेलमिलापको औचित्य आज झनै महत्वपूर्ण रहेको जिकिर गरे ।

‘बिपीले जहिले पनि ४ वटा चिजलाई समेटेको देखिन्छ । सत्य, न्याय, प्रेम र यथार्थता । त्यसैले यो राष्ट्रिय मेलमिलापको औचित्य आजको दिनमा अझ बढी महत्वपूर्ण छ’, डा. थपलियाले भने ।

त्यस्तै, सशस्त्र प्रहरी बलका पूर्व प्रमुख सनत बस्नेतले यो डकुमेण्ट्रीबाट राजनीतिमा नैतिकता धेरै बलियो हुन्छ भन्ने सन्देश दिइएको र अहिलेका राजनीतिज्ञहरुले यसबाट धेरै कुरा बुझ्न सकिने उल्लेख गरे ।

पूर्व आइजी बस्नेतले भने, ‘अहिलेका राजनीतिज्ञहरूले यो डकुमेण्ट्रीबाट राजनीतिमा नैतिकता धेरै बलियो हुन्छ, नैतिक बलमा नै राजनीति अडिनु पर्छ भन्ने सिकिदिए भने ठूलो उपलब्धि हुन्छ मुलुकलाई । नैतिकता सिके भने जुन समाज, राजनीतिमा ह्रास भएको छ, त्यो ह्रास भएको बल फेरि आयो भने समाजले पक्कै पनि केही पाउँछ ।’

राजनीतिकर्मी डा. शिवजी यादवले यो डकुमेण्ट्रीले नेपालमा नौलो आयाम थपेको बताए ।

राजनीतिकर्मी यादवले भने, ‘यसले नेपालको इतिहासमा नौलो आयाम थपेकाे छ । राजनीतिज्ञहरूले यो डकुमेण्ट्रीबाट यसमा समेटिएका कुराहरूको हरेक सेन्टेन्सहरूबाट धेरै अर्थ लगाउन सकिन्छ । अहिलेको राजनीतिमा यसबाट एउटा उदाहरण लिनुपर्ने देखिन्छ । यसबाट धेरै कुरा राजनीतिज्ञहरूले सिकेर देशलाई योगदान दिन सक्छन् । बिपीको बारेमा मैले सुनेको भन्दा यसमा धेरै कुरा उल्लेख भएको रहेछ ।’

‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेण्ट्री निर्माण कार्य अघि बढेको बताएको छ । 

  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १३:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया