प्रतीकात्मकरूपमा दृष्यहरू निर्माण गरेर बनाएको कमरेडको कथा हो ‘पिर’

नमस्कार !

‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरू सबैलाई धेरै-धेरै धन्यवाद । सबैको अपेक्षाअनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शक/स्रोतालाई मर्का परेको मैले महशुस गरेको छु ।

गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि?  तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु । 

’पिर’बाट मैले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको  हो । समानताको लागि एकसाथ लडेका कमरेडहरूबीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हो । मलाई लागेको– यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिँदै/पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र? स्वीकारिएको विषय होइन र?

जसरी यसअघिका  गीतहरू ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’, ‘कुरा बुझ्न पर्छ’ गीतहरूमा कथा बुन्थेँ, पात्र बनाउँथे, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड/छायाङ्कन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ । 

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/पकाउने/पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु । प्रतीकात्मक रूपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’ । यो बीचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरें । केही पात्रहरू पढें । आम मानिसका भोगाइ र संवेदनाहरू बुने  र  भिडियो बनाएँ । मेरो पेसा र पहिचान यहि हो ।



एउटै  गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाइ आउँदैन । त्यसैले  अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतीकात्मक रूपमा राखिएका यस्ता दृष्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म  फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु।  माफी मागेको छु । अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाऔँ । त्यसो हो भने मुना-मदन छन् कि छैनन्? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने? सुयोगवीर र सकम्बरी कहाँ होलान्?  कहाँ होला घुम्ने मेच माथि बसेको  अन्धो मान्छे? खैर, भिडियोलाई फेरि एकपटक अक्षरश: हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ ।

भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा  मैले  यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो । अब भिडियो नै हटाउँदा पो युद्ध/आन्दोलन/गणतन्त्र/स्वतन्त्रताको अपमान हुने हो कि?  म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ  । म सर्जक हुँ,   सिर्जना  नै मेरो बिचार हो । आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग/सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं । तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला । कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष/विपक्षमा एकोहोरो भइन्छ । 



नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौँ । तर, गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो ।  

भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सम्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु । कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौँ । न अल्झाऔँ । किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन् । गाउनुपर्ने कयौं गीत छन् । र, तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरू छन् । प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस् । धन्यवाद प्रकाश सपुत । (प्रकाश सपुतको फेसबुकबाट साभार) 


  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १३:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया